• Friday 16th of October 2026

कुलमान र हितेन्द्रबिच भेट,के भयो कुराकानी ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङसँग भेट गरेका छन्। अदालतको आदेशपछि बुधबार प्राधिकरण फर्किएर पदबहाली गरेका शाक्यले बिहीबार आफ्ना तालुकदार मन्त्री घिसिङसँग भेट गरेका हुन्।

सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न आदेश दिएको थियो। सर्वोच्च अदालतको परमादेशपछि प्राधिकरणको प्रबन्ध निर्देशक पदमा पुनर्बहाली भएसँगै शाक्यले बुधबार पदबहाली गरेका थिए।

स्रोतका अनुसार शाक्यले अदालतको आदेश अनुसार बुधवारदेखि प्राधिकरणमा कार्यकारी निर्देशकको रूपमा हाजिर गरेको जानकारी ऊर्जा मन्त्री घिसिङ र ऊर्जा सचिव चिरञ्जीवी चटौतलाई गराएका छन्। शाक्यले उक्त विषयको जानकारी दिएसँगै ऊर्जा मन्त्री घिसिङले आफ्नो मुख्य ध्येय परिणाममुखी काम गर्ने भएकाले सोही अनुसार रिजल्ट आउने गरी काम गर्न निर्देशन दिएका छन्।

स्रोतका अनुसार भेटमा मन्त्री घिसिङले शाक्यलाई विगत सम्झाउँदै भने, ‘मैले सकिनँ, मलाई सरुवा गर्दा हुन्छ भनेपछि तपाईंसँग सल्लाह गरेर नै जल तथा ऊर्जा आयोगमा विज्ञ सदस्यको रूपमा सरुवा गरेको थिएँ। तर तपाईं अदालत जानु भयो। अदालतबाट पुनर्बहाली भएर आउनु भएको छ। अब द्वन्द्व बढाउने तिर भन्दा पनि परिणाममुखी काम देखाउने गरी काम गर्न लाग्नुस्।’

मन्त्री घिसिङले शाक्यलाई विगतमा भएका बाहिरका सम्बन्धहरूलाई बाहिर राखेर सरकार र प्राधिकरणको हितमा परिणाम दिने गरी काम गर्न निर्देशन दिएका छन्। उनले जोखिम लिएर भए पनि सबैलाई विश्वास दिलाउने गरी काम गर्न आग्रह गरेको स्रोतको भनाइ छ।

स्रोतका अनुसार मन्त्री घिसिङले शाक्यलाई अदालतको आदेशले पुनर्बहाली भएको भनेर सबै काम आफूले मात्रै गर्ने भनेर नसोच्न र सबै सरोकारवालाहरूको गुनासोलाई समेत सम्बोधन गर्ने गरी काम गर्न निर्देशन दिएका छन्। मन्त्रीले शाक्यलाई प्राधिकरणमा आवश्यक सामानहरूको अभाव नहुने गरी काम गर्न पनि निर्देशन दिएका छन्।

मन्त्रीको निर्देशनपछि शाक्यले विगतमा पनि मिलेर काम गरेको भन्दै आगामी दिनमा पनि पहिलेभन्दा बढी जोस र इमानदारिताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेको स्रोतले बताएको छ। उनले नेपाल सरकारको नीति निर्देशन र प्राधिकरणको हितलाई सर्वोपरि ठानेर अघि बढ्ने पनि प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖