• Friday 16th of October 2026

पूर्व गृहमन्त्री लेखकमाथि सेटिङमार्फत भिसा दुरुपयोगको आरोप, अख्तियार सक्रिय


  • धनकुटा खबर
  • .

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निवर्तमान गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा काण्डसम्बन्धी भ्रष्टाचार आरोपमा औपचारिक रूपमा अनुसन्धान भइरहेको पुष्टि गरेको छ।

विशेष अदालतमा बुझाइएको अभियोगपत्रमार्फत अख्तियारले तत्कालीन गृहमन्त्री लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, अध्यागमन विभागका तत्कालीन महानिर्देशक, शान्ति–सुरक्षा हेर्ने महाशाखा प्रमुख रामचन्द्र तिवारीसहित उच्च अधिकारीहरूबीच गैरकानुनी रकम लेनदेन भएको आशंका व्यक्त गरेको छ। आयोगका अनुसार बदनियतपूर्ण सेटिङमार्फत भिजिट भिसामा व्यक्तिलाई विदेश पठाइएको हुनसक्ने आधार मिलेपछि छानबिन व्यापक बनाइएको हो।

अनुसन्धानको दायरामा गृहमन्त्रीका निजी सचिव, स्वकीय सचिव, गृहसचिवको सचिवालय तथा गृह मन्त्रालयका विभिन्न शाखा प्रमुखहरू पनि परेका छन्। भिजिट भिसा काण्ड उजागर हुने क्रममा सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिँदा उनको डायरी बरामद भएको थियो। उक्त डायरी र कल डिटेल्स रेकर्ड (CDR) विश्लेषण गर्दा केही व्यक्तिहरूसँग अस्वाभाविक सम्पर्क र गतिविधि भेटिएको अख्तियारले विशेष अदालतलाई जानकारी गराएको छ।

कल रेकर्ड तथा डायरीमा देखिएको शंकास्पद संवादका आधारमा गृहमन्त्री लेखकका निजी सचिव बद्रि तिवारी, स्वकीय सचिव जनक भट्ट, अध्यागमन हेर्ने महाशाखा प्रमुख, प्रशासन महाशाखाका प्रमुख तथा अन्य पदाधिकारीहरूमाथि अनुसन्धान जारी रहेको अख्तियारको दाबी छ। तीर्थराज भट्टराईसँग जोडिएका अस्वाभाविक पहल, सम्बन्ध र सम्पर्कहरूले भिजिट भिसा प्रकरणमा संगठित नेटवर्कको संलग्नता हुनसक्ने संकेत गरेको आयोगको भनाइ छ।

अख्तियारका स्रोतका अनुसार, भिजिट भिसामा पक्राउ परेकै अवधिमा यी पदाधिकारीहरूको नाम सतहमा आएको हो। आयोगले ठूलो संरचनात्मक भ्रष्टाचारको सम्भावना देखिएको भन्दै अनुसन्धानलाई अझ विस्तार गरिरहेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖