६ महिना लामो अनुसन्धानपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसामा हुने सेटिङमा मुद्दा चलाएको छ । आयोगले बिहीबार तत्कालिन अध्यागमन प्रमुख तिर्थराज भट्टराईसहित सात जनाविरुद्ध मुद्दा दायर गरेको हो।
पहिलो चरणको अनुसन्धान टंगाएर मुद्दा दायर गरिएको आयोगले जनाएको छ । दोस्रो चरणमा उच्चपदस्थविरुद्ध समेत मुद्दा चलाउने आयोगको तयारी छ । आयोगले जारी गरेको बिज्ञप्तिमा तत्कालिन गृहमन्त्री रमेश लेखकको सचिवालय र महाशाखाका कर्मचारीसँग समेत भट्टराईको लेनदेनको सम्भावना देखिएकाले त्यस विषयमा अनुसन्धान जारी रहेको जनाएको छ ।
स्रोतका अनुसार लेखकका निजी सचिव बद्री तिवारी तथा स्वकिय सचिव जनक भट्टसँग लेनेदेन देखिएको छ । तिवारी हाल म्याग्दीको प्रमुख जिल्ला अधिकारी छन् । त्यस्तै, गृहका तत्कालिन सचिव गोकर्णमणि दुवाडी तथा सहसचिवहरुमाथि पनि आयोगले छानबिन गरिरहेको छ । -नयां पत्रिका
