नयाँ दिल्ली । भारतका वरिष्ठ कांग्रेस नेता तथा पूर्व गृहमन्त्री शिवराज पाटिलको ९१ वर्षको उमेरमा निधन भएको छ। बिरामी रहेका पाटिलले शुक्रबार बिहान करिब ६:३० बजे महाराष्ट्रको लातूरस्थित आफ्नै निवासमा अन्तिम श्वास लिएको पीटीआई समाचार एजेन्सीले परिवारलाई उद्धृत गर्दै जनाएको छ।
महाराष्ट्रका शिवराज पाटिलले आफ्नो लामो सार्वजनिक जीवनमा विभिन्न प्रतिष्ठित पदहरूमा रहेर देशको संवैधानिक प्रक्रियामा सक्रिय भूमिका निर्वाह गरेका थिए। उनी सात पटक सांसद रहिसकेका छन् र गृहमन्त्री, लोकसभाका सभामुख (अध्यक्ष), पञ्जाबका राज्यपाल तथा केन्द्रीय मन्त्री लगायतका महत्त्वपूर्ण जिम्मेवारीहरू सम्हालेका थिए। उनी सन् २००८ को मुम्बई आक्रमणको समयमा भारतका गृहमन्त्री थिए।
उनको निधनमा भारतीय राजनीतिज्ञहरूले गहिरो दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै शिवराज पाटिलको निधनले आफू गहिरो दुःखी भएको बताएका छन्। उनले पाटिललाई एक अनुभवी नेताको रूपमा स्मरण गर्दै सामाजिक कल्याणमा उनको योगदानको प्रशंसा गरेका छन्।
लोकसभामा विपक्षी दलका नेता तथा कांग्रेस नेता राहुल गान्धीले पाटिलको निधनलाई पार्टीका लागि अपूरणीय क्षति बताएका छन्। उनले सार्वजनिक सेवाप्रतिको पाटिलको समर्पणलाई सधैँ सम्झिने बताएका छन्। त्यस्तै, कांग्रेस नेतृ प्रियंका गान्धीले पनि पाटिलले रक्षा मन्त्रालयसहित धेरै महत्त्वपूर्ण विभागको जिम्मेवारी सम्हालेर दशकौँसम्म जनताको सेवा गरेको उल्लेख गरेकी छिन्।
