• Friday 16th of October 2026

“राजनीतिक घटना फौजदारी अपराध होइन” — झाँक्रीले गरे ओली पक्षको बचाउ


  • धनकुटा खबर
  • .

काठमाडौ ।। नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भदौ २३ गते जेनजी आन्दोलनका समयमा भएको घटनाको मुख्य राजनीतिक र नैतिक जिम्मेवारी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमै जाने स्पष्ट गरेकी छन्।

सामाजिक सञ्जालमा प्रतिक्रिया व्यक्त गर्दै उनले भनेकी छन् कि ओलीले भदौ २४ गते राजीनामा दिनुले नै घटनाप्रति आफ्नाे राजनीतिक जिम्मेवारी स्वीकार गरेको संकेत गर्छ। तर, उनले हाल पूर्व–प्रधानमन्त्रीमाथि कानुनी वा आपराधिक अभियोग लगाउने प्रयास भने नेपालको राज्यसंयन्त्रलाई नै कमजोर पार्ने अभिव्यक्ति दिएकी छन्।

उनका अनुसार संसदजस्तो अत्यन्त संवेदनशील स्थानमा आकस्मिक रूपमा उत्पन्न जोखिमपूर्ण अवस्थालाई नियन्त्रण गर्न सुरक्षाकर्मीहरूले गोली चलाउनु बाध्यता थियो। त्यस घटनालाई आधार बनाएर तत्कालीन प्रधानमन्त्रीमाथि हत्या आरोप लगाउनु भनेको राज्यको वैधानिकता र सुरक्षा संयन्त्रको coercive power (बल प्रयोग क्षमता) नै धरापमा पार्ने कदम हो। झाँक्रीले प्रश्न गर्दै भनिन्—“अहिलेसम्म भएका घटनालाई लिएर यदि प्रधानमन्त्रीमाथि नै हत्या अभियोग लगाउन थालियो भने भविष्यमा कुनै अप्रिय घटना भयो भने अहिलेका प्रधानमन्त्री र गृहमन्त्रीहरू पनि आरोप झेल्न तयार छन्?”

उनले कानुनलाई “तत्काल आवश्यकता” का नाममा मनपरी व्याख्या गर्न खोजिएको भन्दै यस्तो अभ्यासले राज्य संयन्त्रको शक्ति, वैधता र विश्वसनीयता अत्यन्त तीब्र गतिमा गिरावट आउने चेतावनी दिइन्। झाँक्रीका अनुसार पूर्व–प्रधानमन्त्रीमाथि हत्या अभियोग चलाउँदा क्षणिक रूपमा ‘रोमाञ्चकारी’ लाग्ला, तर दीर्घकालीन रूपमा यसले नेपालको राजनीतिक र प्रशासनिक संरचना नै उकासिन नसक्ने गरी थला पार्ने जोखिम छ।

उनले अन्त्यमा पार्टीभित्र र बाहिरका सबैलाई यस्ता संवेदनशील विषयमा भावनात्मक होइन, राज्यको स्थायित्व र संस्थागत क्षमताको रक्षा गर्ने दृष्टिकोण अपनाउन आग्रह गरेकी छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖