रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुपन्देहीका सचिव तथा सैनामैना नगरपालिकाका पूर्व नगर प्रमुख चित्रबहादुर कार्कीले पार्टी परित्याग गरेका छन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी गरिरहेको जनाइएको छ ।
लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय रहेका कार्की २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट सैनामैना नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका थिए । २०७९ सालको स्थानीय निर्वाचनमा भने पुनः टिकट पाए पनि उनी पराजित भएका थिए ।
कार्की एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य रहँदा उनका स्वकीय सचिवका रूपमा समेत कार्यरत थिए ।
भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनका क्रममा सरकारले अनावश्यक दमन गरेको आरोप लगाउँदै कार्कीले भदौ २३ गते नै असन्तुष्टि जनाएका थिए । सोही दिन उनले एमाले परित्याग गर्ने घोषणा गरेका हुन् ।
