• Friday 16th of October 2026

गभर्नर पौडेलको नियुक्ति प्रक्रियाबारे जेन-जी युनाइटेडले उठायो प्रश्न, बर्खास्त गर्न माग


  • धनकुटा खबर
  • .

काठमाडौं, २८ मंसिर । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने मागसहित जेन–जी युनाटेडले अर्थमन्त्री रामेश्वर खनाललाई ज्ञापनपत्र बुझाएको छ । आज (आइतबार) विहान अर्थमन्त्रालयमा पुगेर जेन–जी युनाइटेडका संयोज जनक परियारले अर्थमन्त्री खनाललाई गभर्नर डा.पौडेललाई बर्खास्त गर्नुपर्नेसहित विभिन्न माग समावेश भएको ज्ञापनपत्र बुझाएका हुन् ।

जेन–जी युनाइटेडले पौडेललाई हटाएर ऐनअनुसार नयाँ गभर्नर नियुक्त गर्न माग गरेको छ । नेपाल सरकारबाट गठित सिफारिस समितिले उपदफा ३ बमोजिम गभर्नर नियुक्तिको लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तिय, वाणिज्य व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरु तथा डेपुटी गभर्नरहरूमध्येबाट तीन जनाको नामवाली नेपाल सरकार मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ भनेकोमा उक्त व्यवस्थाको विरुद्ध डा. पौडेललाई मात्र सिफारिस गरेर गभर्नर नियुक्तिको प्रक्रियामै आशंका उब्जिने ठाउँ सिर्जना गरिएको जेन–जी युनाइटेडको भनाइ छ ।

त्यस्तै, पौडेलले कम्प्युटर इन्जिनियरिङमा स्नातक, एग्रिकल्चरमा स्नात्तकोत्तर गरेको र अनुभवको हिसाबले पनि नियुक्ति ऐनविरुद्ध भएको पुष्टि हु्ने ज्ञापनपत्रमा उल्लेख छ ।

जेन–जी युनाइटेडका मागहरुमा अर्थमन्त्रालयमा विचौलियाको चलखेल रोक्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूको मनपरी नियन्त्रण गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरुले अनाधिकृतरुपमा लिएको ब्याज ऋणीलाई फिर्ता गर्नुपर्ने, नेपाल राष्ट्र बैंकका गभर्नरलाई बर्खास्त गर्नुपर्ने, राजस्व अनुसन्धान र सम्पत्ति शुद्धिकरण विभागलाई जिम्मेवार बनाउनुपर्नेलगायत रहेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖