• Friday 16th of October 2026

चर्चित पत्रकार राजीव खत्री रास्वपामा प्रवेश गर्ने निश्चित,चर्चित युट्युबर भोजराज थापा पनि पार्टी प्रवेश गर्न सक्ने चर्चा


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको टोली विस्तार हुँदै गएको छ। सामाजिक सञ्जालमा चर्चित पत्रकार राजीव खत्री रास्वपामा प्रवेश गर्ने निश्चित भएको छ भने चर्चित युट्युबर भोजराज थापा पनि पार्टी प्रवेश गर्न सक्ने चर्चा चलिरहेको छ।

राजीव खत्रीले पत्रकारिता पेशा त्याग्दै सक्रिय राजनीतिमा प्रवेश गर्ने निर्णय गरेका छन्। उनले आफू कार्यरत न्यूज २४ टेलिभिजनबाट राजीनामा दिएको पुष्टि गर्दै भनेका छन्, “म आजबाट पत्रकारितामा छैन।” खत्री २ पुसमा औपचारिक रूपमा रास्वपामा प्रवेश गर्ने कार्यक्रम तय भएको चर्चा व्यापक रुपमा चलिरहेको छ ।

न्यूज २४ टेलिभिजनमा ‘टु द प्वाइन्ट’ लगायत कार्यक्रममार्फत चर्चामा आएका खत्री सटिक राजनीतिक टिप्पणीका कारण लोकप्रिय बनेका थिए। पार्टी सभापति रवि लामिछानेसँग कारागारमै पटक–पटक भएको छलफलपछि उनी रास्वपामा प्रवेश गर्न तयार भएको स्रोतको दाबी छ।

यसैबीच, चर्चित युट्युबर भोजराज थापा पनि रास्वपा प्रवेश गर्ने चर्चा चलिरहेको छ। उनी कहिले पार्टीमा औपचारिक रूपमा भित्रिने भन्ने मिति भने तय भइसकेको छैन। सामाजिक सञ्जालमा सक्रिय थापाको सम्भावित प्रवेशले पार्टीको डिजिटल पहुँच अझै बलियो बन्ने अनुमान गरिएको छ।

राजीव खत्रीको निश्चित प्रवेश र भोजराज थापाको सम्भावित इन्ट्रीसँगै रास्वपामा मिडिया तथा सामाजिक सञ्जाल प्रभावशाली व्यक्तिहरूको सहभागिता बढ्दै गएको देखिन्छ। यसले आगामी चुनावी रणनीतिमा रवि लामिछानेको टोलीलाई थप मजबुत बनाउने संकेतका रूपमा हेरिएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖