नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) को ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले महासचिव पदका लागि शंकर पोखरेललाई उम्मेदवार बनाउने भएका छन्।
एमालेको निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेपछि शीर्ष नेताहरूबीच भएको छलफलपछि ओलीले पोखरेललाई नै महासचिवको उम्मेदवार बनाउने तयारी गरेको स्रोतले जनाएको छ।
महासचिव पदका लागि यसअघि उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङले पनि दाबी गर्दै आएका थिए। तर ओलीले उनीहरूलाई महासचिवको सट्टा उपाध्यक्ष पदमा व्यवस्थापन गर्ने तयारी गरेको बुझिएको छ।
आइतबार भृकुटीमण्डपमा जारी महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिनिधिहरूको सुझावअनुसार सहमतिका लागि अन्तिम क्षणसम्म प्रयास गरिने बताएका थिए। यद्यपि सहमति जुट्न नसकेमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलको प्यानल बनाएर निर्वाचनमा जाने सम्भावना पनि देखिएको छ। आ–आफ्ना समूहका नेताहरूले सहमतिका लागि आन्तरिक छलफल तीव्र पारेका छन् भने केही महाधिवेशन प्रतिनिधिहरूले प्यानल बनाएर निर्वाचन लड्न नदिन सुझावसमेत दिएका छन्।
पोखरेल समूहबाट सुरेन्द्र पाण्डे वा योगेश भट्टराईलाई उम्मेदवार बनाउने तयारी पनि भइरहेको छ। पाण्डे उपाध्यक्ष पदका आकांक्षी हुन् भने हाल सचिव रहेका भट्टराई उपमहासचिव पदमा उम्मेदवार बन्न सक्ने सम्भावना रहेको बताइएको छ।
एमाले केन्द्रीय समितिले पार्टी संरचना अन्तर्गत अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ गरी १९ पदाधिकारी रहने प्रस्ताव गरेको थियो। सो प्रस्ताव महाधिवेशनको बन्दसत्र हलबाट सर्वसम्मत रूपमा पारित भएको एमाले संगठन विभागका सचिव माधव ढुंगेलले जानकारी दिए।
उनका अनुसार पार्टीको संरचनाअनुसार पोलिटब्युरो स्थायी कमिटीको एक तिहाइ, पोलिटब्युरो सदस्य ९९ जना, र पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था पारित गरिएको छ। ढुंगेलले यो संरचनाले पार्टीभित्र भौगोलिक, सामाजिक र पुस्तागत सन्तुलन कायम गर्दै समावेशी नेतृत्व निर्माणको आधार तयार गर्ने लक्ष्य लिएको बताए।
एमालेको जारी ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको दोस्रो दिन सोमबार नयाँ नेतृत्वका लागि उम्मेदवार मनोनयन प्रक्रिया सुरु भएको छ। निर्वाचन कार्यतालिकाअनुसार बिहान १०:३० देखि दिउँसो १:३० बजेसम्म उम्मेदवार मनोनयन दर्ता हुने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिए।
भक्तपुरको सल्लाघारीमा उद्घाटन समारोह सम्पन्न गरेको एमालेले हाल काठमाडौँको भृकुटीमण्डपमा टेन्ट टाँगेर बन्दसत्र सञ्चालन गरिरहेको छ। महाधिवेशनसँगै पार्टीको नयाँ नेतृत्व चयन प्रक्रियाले निर्णायक मोड लिएको छ।
