• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

रबि र छबिको मुद्दामा अदालतको फैसलामात्रै आउन बाँकी ,बहस सकियो


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी जोडिएको मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा बहस सकिएको छ। अब अदालतको फैसलामात्रै आउन बाँकी रहेको छ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार न्यायाधीश बाबुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासमा बिहीबार दुवै पक्षको बहस सम्पन्न भएको हो। दुवै पक्षका कानुन व्यवसायीहरूले बहस सुन्ने सम्पूर्ण प्रक्रिया सकिएको जानकारी दिएका छन्।

सहकारी ठगी तथा सङ्गठित अपराध अभियोगमा लामिछाने र जोशी हाल पुर्पक्षका लागि थुनामा रहेका छन्।

यसअघि यो मुद्दामा तोकिएको पेसीहरू पटक–पटक स्थगित भएका थिए। मङ्सिर २५ गतेको पेसी ‘हेर्न नमिल्ने’ मा परेपछि स्थगित भएको थियो भने मङ्सिर ११ गतेको पेसी लामिछाने पक्षका कानुन व्यवसायीको अनुरोधमा स्थगित गरिएको थियो।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते लामिछानेलाई रिहा गर्न अस्वीकार गरेको थियो। सहकारीमा अपचलन गरेको भनिएको आफ्नो भागको बिगो रकम दाखिला गरे पनि अदालतले थुनामुक्त गर्न नमानेपछि लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए।

अब बहस सकिएसँगै रवि लामिछाने थुनामुक्त हुने वा पुर्पक्षका लागि थुनामै रहने भन्ने निर्णय अदालतको फैसलाले तय गर्नेछ, जसलाई राजनीतिक वृत्त र आम जनताले चासोका साथ हेरिरहेका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖