काठमाडौं । सहकारी ठगी प्रकरणमा आठ महिनादेखि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज रिहा हुँदैछन्। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार सशर्त रिहा गर्न आदेश दिएपछि आवश्यक प्रक्रिया पूरा गरी उनलाई आज थुनामुक्त गर्न लागिएको हो।
रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेले विगो बराबरको धरौटीमा रिहा हुन माग गरेका थिए। सोही अनुरूप न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले २ करोड ६८ लाख रुपैयाँ जमानत राख्न आदेश दिएको थियो। साथै अदालतले थप १ करोड रुपैयाँ धरौटीसमेत राख्न निर्देशन दिएको छ।
अदालतको आदेश बिहीबार कार्यालय समयपछि आएकाले रिहाइ प्रक्रिया शुक्रबार सुरु हुने भएको हो। त्यसका लागि रवि लामिछाने आज काठमाडौंबाट भैरहवा जाने तयारीमा छन्। उनलाई यसअघि भैरहवा कारागारबाट काठमाडौं सारिएको थियो।
लामिछानेको रिहाइसँगै सहकारी ठगी प्रकरणले फेरि राजनीतिक र सार्वजनिक चासो तान्ने संकेत देखिएको छ।
