• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

रबिलाई रिहाको आदेश दिने न्यायाधीशद्वयलाई निलम्बन गरी कारबाही गर्न माग


  • धनकुटा खबर
  • .

काठमाडौँ । म मुलुक बचाउने नागरिक अभियानका प्रमुख युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेलाई रिहा गर्न आदेश दिने न्यायाधीशलाई कारबाही गर्न माग गर्दै न्याय परिषद् सचिवालयमा उजुरी दर्ता गराएका छन् ।

उनले शुक्रबार न्याय परिषद् सचिवालयमा उजुरी दर्ता गराएका हुन् । उजुरीमा उनले न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलाई तत्काल निलम्बन गरी कारबाही गर्न माग गरेका छन् ।

न्यायाधीशसँगको सेटिङपछि लामिछाने रिहा भएका समेत न्याय परिषद् सचिवालयमा दर्ता गरिएको उजुरीमा उल्लेख गरिएको छ ।

आदेश गर्ने न्यायाधीश आचार्य पटके न्यायाधीश रहेको पनि उनले उजुरीमा उल्लेख गरेका छन् ।

‘पटक पटक परेको पेशीलाई स्थगित गराई रहनुले रवि लामिछानेले आफू निस्कन अनुकूल न्यायाधीशको सेटिङ गराएको र सोही न्यायाधीशकोमा परेको बखत मात्र सुनुवाइ गराउने, यदि सो बेन्च वा न्यायाधीशकोमा नपरेको खण्डमा भने सुनुवाइ नगराई पेशी स्थगित गर्ने गरेका थिए। बाहिर सुनिएअनुसार प्रतिवादी रवि लामिछानेले सो निवेदन दर्ता गराउन र आफू अनुकूल आदेश गराउनको लागि लाखौं रुपैयाँ खर्च गरेको समेत चर्चा थियो । सोही योजना मुताबिक साउन १९ गतेका दिन पेस गरेको निवेदन तीन दिन सम्म गुपचुप राखी साउन २२ गते मात्र दर्ता गरिएको थियो । हरेक पटक परेका पेसीहरू प्राय रवि लामिछानेकै कानुन व्यवसायीले हटाउने गरेका थिए तर मिति २०८२ पौष ०३ गतेका दिन उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश बासुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाले गरेको आदेश उल्टाई रवि लामिछानेलाई २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो बापतको रकम तिराएर प्रतिवादी रवि लामिछानेलाई थुनामुक्त गर्न भन्ने आदेश दिएको रहेछ यो आदेश आएपछि म देशभक्त नेपाली नागरिक युवराज सफलले एउटा के कुराको गन्ध पाएँ भने रवि लामिछानेले सो रिट उच्च अदालतमा दर्ता गराउँदा देखि न्यायाधीश समेतमा सेटिङ गरेका रहेछन्, निजले बेन्च सपिङ (बेन्च खरिद गरेको र सोही बेन्च परेपछि मात्र सुनुवाइ अगाडि बढाएको देखिन्छ, अतः सो आदेश दिने न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलाई तत्काल न्यायाधीशबाट निलम्बन गरी हदैसम्मको कारबाही गर्न माग गर्दछु । आदेश गर्ने न्यायाधीश वासुदेव आचार्य पटके न्यायाधीश रहेको पनि यसै निवेदन एवम् उजुरी मार्फत सार्वजनिक गर्न चाहन्छु,’ उजुरीमा उल्लेख गरिएकाे छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖