नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले आफू प्रधानमन्त्री बन्ने चाहना रहेको खुला रूपमा बताएका छन्। जेन–जीसँगको अन्तरक्रियामा बोल्दै उनले देशमा अहिले चुनाव हुन्छ कि हुँदैन भन्ने विषयमै गम्भीर शंका उत्पन्न भएको बताए।
विप्लवका अनुसार वर्तमान राजनीतिक र सुरक्षा अवस्थाका कारण जनताले चुनावप्रति विश्वास गर्न सकेका छैनन्। उनले भने, “सुशीला कार्की नेतृत्वको सरकारले गर्ने भनिएको चुनावलाई मान्छेहरूले पत्याइरहेका छैनन्। प्रहरीका १६ सय हतियार लुटिएको घटना अझै समाधान भएको छैन, ती हतियार फिर्ता भएका छैनन्। यस्तो अवस्थामा चुनाव गर्न सक्ने गरी प्रहरीको मनोबल उठ्न सकेको छैन।”
उनले वर्तमान संकटको निकासका लागि अन्तरिम सर्वपक्षीय सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सारे। जेन–जीका मागहरू सम्बोधन गर्दै राजनीतिक स्थिरता कायम गरेपछि मात्रै निष्पक्ष चुनाव सम्भव हुने उनको भनाइ छ। साथै, उनले शासन प्रणालीमा नयाँ बहस आवश्यक रहेको उल्लेख गर्दै प्रत्यक्ष राष्ट्रपति चुन्ने वा सबै जनताको भोटबाट प्रधानमन्त्री चयन गर्ने विकल्पमा छलफल गर्नुपर्ने बताए। “जेन–जीको माग पनि यही हो,” उनले जोड दिए।
विप्लवले आगामी चुनावमा नेकपा माओवादी सहभागी हुने स्पष्ट पार्दै आफूहरू देशलाई राम्रो बनाउने सपना बोकेर अघि बढेको बताए। उनले माओवादी आन्दोलनको इतिहास स्मरण गराउँदै भने, “हामीले बन्दुक पनि बोकेका छौँ, जेल पनि गएका छौँ, किताब पनि पढेका छौँ। अहिले नयाँ उद्योगधन्दा पनि चलाइरहेका छौँ, काम गरिरहेका छौँ।”
यदि किसान, मजदुर, बुद्धिजीवी, व्यापारी, मध्यम वर्ग, सहर र गाउँका जनताले अवसर दिए आफूहरू जिम्मेवारी लिन तयार रहेको उनको दाबी छ। “यदि जनताले ‘एकचोटि गरेर देखाऊ’ भनेर जिम्मा दिनुभयो भने, एकपटक यो देशको प्रधानमन्त्री वा कार्यकारी प्रमुख भएर गोरुजस्तो जोतेर देशको सेवा गर्ने चाहना पनि नेकपा माओवादीको छ,” विप्लवले भने।
उनको अभिव्यक्तिले देशको वर्तमान राजनीतिक अन्योल, चुनावको विश्वसनीयता र वैकल्पिक शासन संरचनाबारे नयाँ बहस चर्काउने संकेत गरेको छ।
