पर्साको धोबिनी गाउँपालिकामा बर्दीधारी भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेका छन्। भारतीय प्रहरीको गाडीमै आएका सुरक्षाकर्मीलाई शुक्रबार स्थानीयले रोकेपछि केही समय तनावको अवस्था बनेको थियो।
गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानका अनुसार सीमावर्ती क्षेत्रमा खटिएको भारतीय प्रहरी वडा नम्बर ५ भित्र प्रवेश गरेको थियो र पछि यो विषय नेपाल प्रहरीले समन्वय गरेर मिलाएको हो। सार्वजनिक भिडियोमा स्थानीयले भारतीय प्रहरीलाई “नेपालमा के गर्न आएको?” भन्दै प्रश्न गरेको देखिन्छ।
यस विषयमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बर्दीमा भारतीय सुरक्षाकर्मी प्रवेश गरेको जानकारी आफूलाई नभएको बताएका छन्। नेपाल–भारत सीमा क्षेत्रमा यसअघि पनि यस्ता घटना दोहोरिँदै आएका छन्।
