• Friday 16th of October 2026

सुदन र मिराजलाई रक्षा बमको चेतावनी: मेरो चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोला


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले सुदन गुरुङ र मिराज ढुङ्गानाप्रति लक्षित गर्दै कडा चेतावनी दिएकी छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस पोस्ट गर्दै बमले पितृसत्तावादी सोचप्रति आपत्ति जनाउँदै ‘चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्न’ चेतावनी दिएकी हुन् ।

‘…चुरा लगाएका हातलाई कमजोर ठान्ने पितृसत्तावादी भूल नगर्नुहोला । स्त्रीद्वेषी टिप्पणी दिन छोड्नुस् र याद गर्नुस्, परिवर्तनका हरेक आन्दोलनहरूमा महिलाहरूले पनि आफ्नो रगत पसिना एक गरेका छन्। भदौ २८,२०८२ मा ढोगेको खुट्टा सम्झनुस् । तपाईँले चुरा लगाएकै हात भएकी एक महिलाको खुट्टामा लम्पसार परेर ढोग्नुभएको थियो ।’, उनले लेखेकी छिन् ।

बमले संसद् पुनः स्थापनाको बहसलाई पश्चगामी बाटोको संज्ञा दिँदै मुलुकको राजनीतिक कोर्स त्यस चरणभन्दा धेरै अघि बढिसकेको बताएकी छन् । उनका अनुसार अब निकासका लागि नयाँ जनादेश सहित नयाँ संसदमार्फत देशलाई अघि बढाउनुपर्ने आवश्यकता छ । ‘यतिखेर सबैभन्दा प्रमुख कुरा राजनीतिक प्रक्रिया हो,’ उनले लेखेकी छन्, ‘हामी कसैको पनि स्वार्थपूर्तिका खातिर राजनीतिक वा रणनीतिक गोटी बन्नु हुँदैन।’

उनले देशमा शान्तिको आवश्यकता औँल्याउँदै सबैलाई थप सचेत हुन आग्रह गरेकी छन् । साथै, चुरा लगाएका हातलाई कमजोरीको प्रतीक ठान्ने सोचप्रति कडा आलोचना गर्दै आफू यस्ता गलत कुकृत्यविरुद्ध निरन्तर मुठ्ठी उठाइरहेको स्पष्ट पारेकी छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖