• Friday 16th of October 2026

निष्पक्ष निर्वाचनका लागि रास्वपासँग सहकार्य गर्ने सहमति: सञ्चारमन्त्री


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनमा सहभागी हुने स्पष्ट प्रतिबद्धता जनाएको छ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र रास्वपाका सभापति रवि लामिछानेसहित रास्वपा नेताहरुबिच आइतबार भएको वार्तामा निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचनका लागि सहकार्य गर्ने सहमति भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राति ८ बजेदेखि सुरु भएको छलफल करिब अढाई घण्टा चलेको थियो । बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चारमन्त्री खरेल, रास्वपाका उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णीम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, नेता शिशिर खनाल, साेबिता गाैतमलगायत सहभागी थिए ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खरेलले वार्ता मुख्यतः आगामी चुनावमा केन्द्रित रहेको बताए । उनका अनुसार सरकारले निष्पक्ष निर्वाचन सम्पन्न गर्न गरिरहेको तयारीबारे रास्वपाका नेताहरूलाई जानकारी गराइएको थियो । सोही क्रममा रास्वपाले चुनावमा भाग लिने स्पष्ट प्रतिबद्धता व्यक्त गरेको उनले बताए ।

‘आजको वार्ता चुनाव केन्द्रित भयो । निष्पक्ष चुनावका लागि सरकारले गरेको तयारीबारे जानकारी गरायौँ । रास्वपाले चुनावमा सहभागी हुन्छौँ भन्ने कुरा स्पष्ट रूपमा आएको छ,’ मन्त्री खरेलले भने ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖