काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अन्य मन्त्रालयमा कर्मचारी सरुवामा जेन–जी अभियन्ताहरूको दबाब बढ्दै गएको आरोप लागेको छ। विभिन्न मन्त्रालयका सचिव र सहसचिवसम्म निरन्तर फोन, भेटघाट र सिफारिसमार्फत सरुवा गराउन दबाब दिइएको स्रोतको भनाइ छ।
खासगरी स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सरुवामा जेन–जी अभियन्ताहरू सक्रिय देखिएका छन्। उनीहरूले आफ्ना नजिकका कर्मचारीलाई आकर्षक वा रणनीतिक स्थानमा सरुवा गराउन मन्त्रालयका उच्च अधिकारीमाथि प्रभाव प्रयोग गरिरहेको आरोप छ।
मन्त्रालय स्रोतका अनुसार यस्ता दबाबका कारण कर्मचारी प्रशासनमा असहजता बढेको छ। केही अधिकारीले दबाबका कारण निर्णय प्रक्रियामा समस्या आएको बताएका छन्।
यस विषयमा सरकार र सम्बन्धित मन्त्रालय गम्भीर रहेको जनाइएको छ। नियम र प्रक्रियाबाहिर गएर हुने कुनै पनि सरुवा स्वीकार्य नहुने भन्दै प्रशासनिक अनुशासन कायम गर्ने तयारी भइरहेको बताइएको छ।
