काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौमा भएको दमन र २४ भदौको आगजनी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने तयारी गरेको छ।
आयोगका अनुसार केही सुरक्षा निकायका अधिकारी र निजामती कर्मचारीहरूको बाँकी बयान सम्पन्न भएपछि ओली र लेखकलाई औपचारिक पत्रमार्फत आयोगमा उपस्थित हुन आग्रह गरिनेछ। आयोगले बयानका लागि कम्तीमा एक साताको समय दिने गरी पत्र पठाउने योजना बनाएको छ।
हाल आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविराज रिजालको बयान लिइरहेको छ भने हालका आईजीपी तथा तत्कालीन एआईजी दानबहादुर कार्कीको बयानको केही अंश मात्र बाँकी छ। यी बयान एक–दुई दिनमै सकिने र त्यसपछि पत्र पठाउने प्रक्रिया अघि बढाइने आयोगको तयारी छ।
आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माका अनुसार, “बाँकी बयान सकिएपछि तत्कालीन सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री र शान्ति सुरक्षा हेर्ने गृहमन्त्रीलाई आयोगमा बोलाइनेछ। यसका लागि औपचारिक पत्राचार गरिनेछ।”
पत्र बुझाउन आयोगले आफ्नै कर्मचारी वा सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ। गृहमन्त्री रमेश लेखकले भने पूर्वसूचना पाए कुनै पनि दिन आयोगमा उपस्थित भएर आफ्नो धारणा राख्न तयार रहेको सन्देश आयोगका सदस्यलाई पठाइसकेको स्रोतले जनाएको छ ।
