बेइजिङ । चीनको गेमिङ उद्योगका चर्चित तथा विवादित व्यक्तित्व सु बो अहिले आफ्नो व्यवसायभन्दा पनि असामान्य व्यक्तिगत जीवनका कारण विश्वभर चर्चामा छन्।
‘डुओई नेटवर्क’ का संस्थापक सुले अमेरिकामा सरोगेसीमार्फत १०० भन्दा बढी सन्तान जन्माएको तथ्य सार्वजनिक भएको छ। यो घटनालाई वाल स्ट्रिट जर्नलले प्राथमिकताका साथ छापेपछि उनको कम्पनीले आधिकारिक विज्ञप्ति नै जारी गरेर सुका ‘१०० भन्दा केही बढी मात्र’ सन्तान रहेको र ती वर्षौँको प्रयासपछि जन्मिएको पुष्टि गरेको छ।
यद्यपि, सु बोकी पूर्वप्रेमिका टाङ जिङले भने यो सङ्ख्या निकै कम भएको दाबी गरेकी छिन्। १४ वर्षसम्म उनीसँगै बसेकी टाङका अनुसार सुले ३०० भन्दा बढी सन्तान जन्माइसकेका छन्। हाल सु र टाङबिच ठुलो आर्थिक विवाद चलिरहेको छ, जहाँ टाङले ती सयौँ बालबालिकाको पालनपोषणमा आफूले लाखौँ डलर खर्च गरेको बताएकी छिन्। टाङ र सुका आफ्नै ११ सन्तान छन्, जसमध्ये दुई छोरीको संरक्षकत्वका लागि अहिले कानुनी लडाइँ जारी छ।
सु बोका अभिव्यक्तिहरू पनि उत्तिकै विवादास्पद छन्। उनले सामाजिक सञ्जालमा आफ्नो नाममा नै ‘धेरै सन्तान भए सबै समस्या समाधान हुन्छ’ भन्ने राखेका छन्। उनले सार्वजनिक रूपमै ‘कम्तीमा ५० जना उच्च गुणस्तरका छोराहरू’ जन्माउने लक्ष्य राखेको र ती छोराहरूले आफ्नो साम्राज्य सम्हाल्ने बताउँदै आएका छन्। छोरीभन्दा छोरा उत्कृष्ट हुने उनको धारणा र सन्तानलाई ‘उत्पादन’ सरह मान्ने उनको सोचको चीनमा तीव्र आलोचना भइरहेको छ।
चीनमा सरोगेसी प्रतिबन्धित भए तापनि सुले अमेरिकी एजेन्सीहरू प्रयोग गरेर यो कार्य गरिरहेको खुलासा भएपछि चिनियाँ सामाजिक सञ्जालमा आक्रोश पोखिएको छ। धेरैले उनलाई ‘मानव प्रजननको प्रयोग’ गरिरहेको र बालबालिकालाई वस्तु सरह व्यवहार गरेको आरोप लगाएका छन्। आफूलाई ‘चीनको पहिलो पिता’ दाबी गर्ने सुको यो जीवनशैलीले अहिले नैतिक र कानुनी बहस सिर्जना गरेको छ।
