• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

गगन र विश्वप्रकाश बेगर कांग्रेस कसरी चुनावमा जाला ?


  • धनकुटा खबर
  • .

काठमाडौं । पछिल्ला दुई मितिका दुई दृश्य याद गरौं, ७ पुस र १० पुस । ७ पुसमा एमाले अध्यक्ष केपी ओलीले महाराजगन्जमा कांग्रेस सभापति देउवा भेटेकै दिन रवि लामिछाने र बालेनबीच ६ घण्टा लामो बैठक भएको थियो ।

१० पुस अर्थात् बिहीबार बालेनले रविलगायत विभिन्न जेनजी समूहसहितका नेता भेट्दा कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आगामी आम चुनाव नलड्ने संकेत दिएका छन् ।

जेनजी विद्रोहपछि पुराना दलहरुको नेतृत्वमाथि काफी प्रश्न र आलोचना बर्साउँदै नयाँ पुस्ताका मतदाता अघि सर्दैगर्दा कांग्रेस, एमालेलाई नयाँ नेतृत्व लिएर चुनावमा आशा सन्चार गर्नुपर्ने चुनौती छ ।

एमालेले उनै ओलीलाई एघारौं महाधिवेशनबाट अध्यक्ष पदमा फेरि निर्वाचित गरेको छ । ओली पनि जेनजीको भावना समेटेर पार्टी सुधार गर्नभन्दा धेरै तत्कालीन जेनजी आन्दोलनमा होमिएकाहरुमाथि कटाक्ष गर्न समय खर्चिरहेका छन् । ओली अहिले सरकार विरोधी गाली गर्न पनि उतिकै समय खर्च गरिरहेका छन् ।

कांग्रेसमा देउवाले पूर्णबहादुरलाई असोज २८ गते कार्यवाहक दिए । जेनजी आन्दोलनकारीको आक्रमणबाट घाइते भएका देउवा दम्पत्ति थप उपचारका लागि भन्दै देशबाहिर गए । एक महिनापछि उनी फर्किँदा पनि विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विवादले केन्द्रीय समिति बैठक जारी थियो । उक्त विवादलाई थामथुम पार्न पनि एक देउवा नै सक्रिय भए । देउवा सक्रिय भएपछि केन्द्रीय समिति बैठक ४५ दिन चलेर सम्पन्न भएको थियो ।

त्यसपछि चुपचाप महाराजगञ्जमा रहेका देउवा पछिल्लो दुई हप्तायता पूर्ववतः अवस्थामा सक्रिय छन् ।

पार्टीमा कार्यवाहक भए पनि शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले देउवालाई नै छलफलका लागि निम्तो दिए । उक्त छलफलमा देउवासहित, ओली, प्रचण्ड र प्रधानमन्त्री सुशीला कार्की सहभागी थिए ।

कांग्रेसभित्र जेनजी आन्दोलनपछि आत्मालोचना गर्दै, माफी माग्दै पार्टी सुधारको अभिव्यक्ति दिने पहिलो नेता हुन् गगन । उनीसँगै अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि पार्टी सुधारका लागि नियमित महाधिवेशन गरौँ, नियमित गर्न नसके विशेष महाधिवेशन गर्नुपर्ने आजाव लामो समयसम्म उठाए ।

सोहीअनुसार उनीहरू निकट नेताहरूको सक्रियतामा पार्टी कार्यालयमा विशेष महाधिवेशन मागको पत्र दर्ता भयो । तर कार्यवाहक सभापति खड्काले त्यसलाई पन्छाइदिए ।

नेपाली कांग्रेसले पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने निर्णय गरेको छ । तर, यो सम्भावना लगभग टरिसकेको छ । महाधिवेशन तालिका ल्याउनुबाहेक अन्य उल्लेख्य प्रगति केही भएको छैन ।

पुसको महाधिवेशन अझै पनि सम्भव रहेको भन्दै महामन्त्रीले बुधबार भने, ‘महाधिवेशन गर्ने भनेर तालिका मात्रै ल्याएर टार्न खोजेर हुँदैन ।’ थापाले सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै नाम मात्रको कार्यवाहक दिएर शक्ति आफैँले राखेको आरोप लगाए ।

आज उनै गगनले पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनअघि पार्टी महाधिवेशन नभए आफू चुनावै नलड्ने घोषणा गरे ।

थापाले बैठकमा फागुन २१ को प्रतिनिधि सभा निर्वाचनअघि पार्टी नेतृत्व परिवर्तन अनिवार्य भएको बताएका छन् ।

‘चुनावअघि पार्टीको नेतृत्व परिवर्तन हुनैपर्छ । नेतृत्व फेरिएन भने चुनावमा जान सम्भव छैन,’ थापाले बिहीबारको बैठकमा भने, ‘नेतृत्व परिवर्तन नगरी चुनावमा जाने हो भने को–को चुनाव लड्ने हो लड्नुस् म चाहिँ लड्दिनँ ।’

फागुनकै चुनावका लागि थापा काठमाडौँसहित विभिन्न जिल्लाबाट एकल रुपमै उम्मेदवार सिफारिससमेत भएका छन् ।

थापामात्रै होइन, अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि चुनाव नलड्ने घोषणा गरेका छन् । झापा–१ बाट चुनावका लागि एकल सिफारिस भएका शर्माले पनि चुनाव नलड्ने घोषणा गरेका हुन् । उनले आफूलाई सिफारिस गरेकोमा धन्यवाद दिँदै आफू निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरे । बुधबारमात्रै झापामा आयोजित क्षेत्रीय भेलामा नै आफूले उम्मेदवार बन्न चाहनेलाई दाबी गर्नका लागि भनेको पनि बैठकमा सुनाए ।

‘एक वर्षअघि ०८१ पुस २१ गते मेचिनगर झापाको धुलाबारीस्थित अतिथि सदनको कार्यक्रममा बोल्दै आगामी चुनावमा उम्मेदवार बन्न इच्छुक साथीहरू अहिल्यैदेखि गाउँमा मेहनत गर्नोस्, म ०८४ मा उम्मेदवार बन्न इच्छुक छैन भनेर घोषणा गरेको थिएँ,’ शर्माले बैठकमा भने, ‘तर पनि फेरि सर्वसम्मत सिफारिस गरेकोमा झापा १ का आदरणीय साथीहरूलाई धन्यवाद दिएको छु ।’

उनले बाँचुन्जेल क्षेत्र कब्जाको सोच राख्ने, सासले भ्याएसम्म मन्त्री बन्नुपर्ने राजनीतिको यस्तो प्रवृत्ति भत्काउन जरुरी रहेको सुनाए ।

‘आफ्नो पावरले भ्याएसम्म उम्मेदवार बन्ने जित्दा त कुरै भएन, हार्दा पनि क्षेत्र नछाड्ने, एक क्षेत्रमा हारे अर्को क्षेत्रमा वा एउटा तहमा हारे अर्कोमा भए पनि उम्मेदवार बन्नैपर्ने,’ शर्माले बैठकमा भने, ‘हाम्रो राजनीतिको यो प्रवृत्ति भत्काउन जरुरी छ ।’

साथै, उनले लगातार तीन पटकसम्म उम्मेदवार बनिसकेकाले आफू उम्मेदवार नबनेर अरु साथीहरूलाई अघि सार्ने पनि बताए ।

‘म लगातार तीन पटक उम्मेदवार बनिसकेकोले यो पटक आफू उम्मेदवार नबनेर अरु साथीहरूलाई अघि सार्ने प्रस्ताव क्षेत्रमा गरेर आएको जानकारी गराउँदछु,’ पार्टी बैठकमा उनले भने ।

थप प्रष्ट पार्दै उनले भने, ‘गत चुनावमा म आफ्नो क्षेत्रमा सीमित थिएँ, योपटक देशव्यापी रुपमा पार्टीका उम्मेदवारहरूको साथमा पुग्नेछु ।’

बालेन, रवि, कुलमान, जेनजीबीच सहकार्यको चर्चा चल्दैगर्दा नयाँ शक्तिहरु झन् बलिया हुने तयारीमा छन् । तर कांग्रेसले भने आफ्ना स्टार क्याम्पेनर अर्थात् गगन र विश्वप्रकाशलाई चिढ्याउँदै पार्टीभित्र पुनर्गठनको संकेत गरेन ।

उनीहरुबेगर अहिले कांग्रेसले चुनावमा जाँदा कस्तो नतिजा ल्याउला ? विगतको चुनावमा संस्थापन पक्षका नेताको प्रचार गर्नसमेत गगन र विश्वको खोजी हुनेगर्थ्यो । तर कांग्रेसले नेतृत्व बदल्ने संकेत गरेको छैन । बरु ओलीसँग लागेर प्रतिनिधि पुनर्स्थापनाको एजेन्डालाई बलियो बनाउन थालिएको छ ।

सुरुमा सभापति शेरबहादुर देउवाकै निर्देशनमा विघटित प्रतिनिधिसभाका पूर्वप्रमुख सचेतक श्यामकुमार घिमिरेले दायर गरे । पछि पूरक रिट पनि दायर भइसकेको छ । त्यसको प्रारम्भिक सुनुवाइसमेत सर्वाेच्चले गरिसकेको छ । त्यस्तै नेकपा एमालेले पनि पुनर्स्थापनाको माग गर्दै पहिले नै रिट दायर गरिसकेको छ । सर्वाेच्चले अब दुवै दलसहित यसका पक्षधरको रिटमा एकैसाथ सुनुवाइ गर्ने भनेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेपछि कांग्रेस यो रिट लिएर सर्वाेच्च पुगेको थियो । यसअघिको चुनावमा ठूलो दल कांग्रेस यति बेला प्रश्नहरूले घेरिएको छ– पार्टीमा युवाहरुको प्रतिनिधि रहेका महामन्त्रीबिनै कसरी चुनावमा जाला ?

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖