वैकल्पिक नयाँ शक्तिहरूबीच सहकार्यको तयारी गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच आज–भोलिमै सहमतिको घोषणा गर्ने गरी दुवैको टीमले गृहकार्य थालेको छ ।
फागुन २१ का लागि तोकिएको चुनावका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची पेश गर्ने दिन पुस १३ अगावै सहमतिमा पुगिने ती दल निकट स्रोतले बतायो ।
पुस ७ गते सोमबार र १० गते बिहीबार दुईपटक गरी भएका छलफलबाट रवि र बालेन सहमतिनजिक पुगेको रास्वपा स्रोतले जानकारी दियो ।
‘आगामी चुनावमा नयाँ वैकल्पिक शक्तिहरू मिलेर जानुपर्छ भन्नेमा कुनै विमति छैन, सहमतिको मोडालिटी कस्तो हुने भनेर खाका बनाउने गृहकार्य भइरहेको छ,’ स्रोतले भन्यो ।
पावर शेयरिङ र रवि–बालेनको पदीय हैसियतबारे प्रारम्भिक कुराकानी भएपनि टुंगिन बाँकी रहेको स्रोतको दाबी छ ।
रवि–बालेन सहमतिमा उज्यालो नेपाल पार्टीका अवधारणाकार कुलमान घिसिङलाई समेत समेट्नेबारे छलफल भइरहेको बालेनसँग भेट गरेकाहरूले बताएका छन् । कुलमान र बालेनबीच बिहीबार बिहान पनि छलफल भएको थियो ।
बालेन शुक्रबार काठमाडौं महानगरको नगरसभामा व्यस्त रहेकाले उनको टीम मात्र यसको गृहकार्यमा लागेको छ ।
आन्दोलनमा सक्रिय केही जेनजी प्रतिनिधि समेतलाई समेटेर नयाँ वैकल्पिक शक्ति घोषणा गर्ने गृहकार्य चलिरहेको रवि–बालेनसँग निरन्तर संवादमा रहेको स्रोतले बतायो ।
लामो मौनता तोड्दै बालेनले संसदीय राजनीतिमा आउने संकेत हिजोको भेटमा दिएका थिए । बालेनले पहिलो संसदीय निर्वाचन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध झापाबाट लड्ने संकेत निकटस्थहरूलाई दिएका छन् ।
२०७९ साल वैशाखमा स्थानीय तह निर्वाचनमा राजधानी शहर काठमाडौं महानगरको मेयरमा निर्वाचित भएपछि नेपालीमाझ उनी परिचित बनेका थिए ।
सोही वर्षको संसदीय निर्वाचनमा पहिलो प्रयासमा चौथो शक्तिको रूपमा उदय भएको रास्वपाले आगामी चुनावमा वैकल्पिक शक्तिहरूको मोर्चा बनाउने कसरत गरिरहेको छ ।
प्रमुख संसदवादी दल नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिनिधिसभा पुन:स्थापनामा जोडबल गरिरहेका बेला वैकल्पिक भनिएका दल पुन:स्थापनाले निकास नदिने भन्दै चुनावको तयारीमा लागेका छन् ।
फागुन २१ को चुनाव सन्देहमा रहे पनि नयाँ दलहरूले भने तयारी तीव्र बनाएका छन् । रास्वपाले समानुपातिकको प्रारम्भिक सूचीमा सिफारिश भएका उम्मेदवारसँग छलफल गरिरहेको छ ।
