• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

रवि लामिछाने र बालेन साह बीच हुने भनिएको सहमति अन्तिम मोडमा पुगेर रोकियो


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहबीच हुने भनिएको सहमति अन्तिम मोडमा पुगेर रोकिएको छ। आजै सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी भए पनि बालेन साहले अन्तिम स्वीकृति नदिएपछि सहमति टुंगिन नसकेको स्रोतले जनाएको छ।

आज दिनभरि रास्वपा र बालेन पक्षका वार्ताकारहरू सहमतिपत्रलाई अन्तिम रूप दिन सक्रिय थिए। सहमतिका धेरै विषयमा दुवै पक्षबीच सहमति जुटिसकेको थियो। वार्ताकारहरूले रास्वपा सभापति रवि लामिछानेलाई भेटेर मस्यौदामाथि छलफल गरेका थिए। तर, मेयर बालेन साहसँग भने अन्तिम चरणको प्रत्यक्ष छलफल हुन सकेन।

स्रोतका अनुसार बालेन साह काठमाडौं महानगरपालिकाको नगरसभा तथा अन्य प्रशासनिक काममा व्यस्त रहेकाले आज सहमतिपत्रमा हस्ताक्षर हुन सकेन। यद्यपि, सहमति प्रक्रिया टुटेको नभई केही समयका लागि स्थगित मात्र भएको बताइएको छ।

दुई पक्षबीच भोलि निर्णायक छलफल गर्ने र सहमतिपत्रलाई अन्तिम रूप दिएर हस्ताक्षर गर्ने तयारी रहेको स्रोतको भनाइ छ। सहमति टुंगिएमा आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्य, राजनीतिक नेतृत्व, र भावी सरकार गठनसम्बन्धी विषयमा स्पष्ट मार्गचित्र सार्वजनिक हुने अपेक्षा गरिएको छ।

रवि–बालेन सहमति वैकल्पिक राजनीतिक शक्तिहरूको एकीकरणका रूपमा हेरिँदै आएको छ। त्यसैले सहमति ढिलाइ हुनुले राजनीतिक वृत्तमा चासो र चर्चा बढाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖