• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

रवि भन्दा बालेन प्रभावशाली हुनुको कारण पपुलिज्म नै हो : रिजाल


  • धनकुटा खबर
  • .

नेकपा एमालेका नेता विष्णु रिजालले लोकप्रियतावादी (पपुलिस्ट) राजनीति क्षणिक हुने र अन्ततः आत्मविनाशतर्फ उन्मुख हुने राजनीतिक प्रवृत्ति भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले लोकप्रियतावाद दीर्घकालीन दृष्टि, स्पष्ट सिद्धान्त र संगठनविहीन हुने भएकाले अन्ततः आफैँ कमजोर हुँदै जाने बताएका हुन्।

रिजालका अनुसार विश्वव्यापी रूपमा लोकप्रियतावादको साझा विशेषता भनेकै एक लोकप्रियतावादी पात्रभन्दा अझ चर्को लोकप्रियतावादी उदाउँदा अघिल्लो पात्र स्वतः ओझेलमा पर्नु हो। यही सन्दर्भमा उनले नेपाली राजनीतिलाई संकेत गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेभन्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह अहिले बढी प्रभावशाली देखिनुको कारण पनि यही प्रवृत्ति भएको उल्लेख गरेका छन्।

उनले लोकप्रियतावादलाई बेलुनसँग तुलना गर्दै लेखेका छन्, “बेलुन जति फैलिँदै जान्छ, अन्ततः त्यति नै चाँडो फुट्छ।” उनका अनुसार आज प्रभावशाली देखिएका लोकप्रियतावादी पात्रहरूभन्दा अझ चर्को शैली र भाषासहितको अर्को पात्र उदायो भने अहिलेका पात्रहरू पनि सहजै फिक्का हुन सक्छन्।

रिजालले सिद्धान्त, संगठन, इतिहास र भविष्यबिनाको राजनीति वर्तमान असन्तुष्टि र आवेगमा आधारित हुने भएकाले दीर्घकालीन समाधान दिन नसक्ने बताएका छन्। भावावेश, उत्तेजना, बदला र ‘खुच्चिङ’को मानसिकताबाट निर्देशित राजनीति क्षणिक रूपमा आकर्षक देखिए पनि अन्ततः असफल हुने उनको भनाइ छ।

उनले लोकप्रियतावादी प्रवृत्तिको अन्तिम परिणामका रूपमा ‘कोरलिने जेलेन्स्कीहरू’ जन्मिन सक्ने चेतावनी पनि दिएका छन्। रिजालका अनुसार यस्तो राजनीतिले देश र समाजलाई दीर्घकालीन संकटतर्फ धकेल्न सक्छ, जहाँ नेतृत्व भावनामा बग्ने तर संस्थागत स्थायित्व कमजोर हुने जोखिम रहन्छ।

उनले स्थायी राजनीतिक परिवर्तनका लागि स्पष्ट विचार, संगठित शक्ति, ऐतिहासिक चेतना र भविष्यदृष्टि अनिवार्य हुने उल्लेख गर्दै लोकप्रियतावादी लहरभन्दा माथि उठेर जिम्मेवार र दीर्घकालीन राजनीतितर्फ उन्मुख हुनुपर्ने आवश्यकता औंल्याएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖