• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

जुट्दै देउवा, ओली र प्रचण्ड, चुनाव भए पनि नभए पनि सँगसँगै जाने संकेत


  • धनकुटा खबर
  • .

काठमाडौँ । देशको राजनीतिक तरलताबीच प्रमुख तीन दलका शीर्ष नेताहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवै सम्भावित बाटोमा सँगै अघि बढ्ने तयारीमा देखिएका छन्। चुनावी वातावरण बनाउने उद्देश्यले सूचना, प्रविधि तथा सञ्चारमन्त्री जगदीश खरेलले तीनै नेतासँग छुट्टाछुट्टै भेट गरेपछि यस्तो संकेत देखिएको हो।

मन्त्री खरेलका अनुसार तीनै दलका शीर्ष नेताहरू फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुनुपर्नेमा सहमत छन्। कांग्रेस र नेकपाले चुनावको विकल्प नरहेको स्पष्ट पारेका छन् भने एमालेले सुरक्षाको वातावरण सुनिश्चित हुनुपर्ने शर्त अघि सारेको छ। सरकार सुरक्षाबारे लचक देखिएसँगै चुनावी माहोल बन्दै गएको निष्कर्ष निकालिएको छ।

गत ८ पुसमा शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्की, देउवा, ओली र प्रचण्डबीच भएको छलफल नै पछिल्लो सहकार्यको आधार बनेको स्रोतको दाबी छ। सोही सहमतिअनुसार प्रधानमन्त्री कार्कीले पनि शीर्ष नेताहरूसँग पुनः छलफल गर्ने तयारी गरिरहेकी छन्।

यद्यपि नेताहरू चुनाव सुनिश्चित गर्न प्राथमिकतामा भए पनि चुनाव नहुने अवस्था आए संविधान र व्यवस्था जोगाउन पनि सँगसँगै उभिने समझदारी बन्दै गएको छ। सोही सन्दर्भमा प्रतिनिधि सभा पुनर्स्थापनाको विकल्पमा समेत कांग्रेस, एमाले र नेकपाबीच गृहकार्य सुरु भएको स्रोतहरूले बताएका छन्।

जेनजी आन्दोलनपछि पुराना दलहरू प्रतिगामी भन्ने भाष्य बलिँदै गएको अवस्थामा लोकतन्त्र, संविधान र व्यवस्था जोगाउन प्रमुख शक्तिहरूबीच सहकार्य अपरिहार्य बनेको नेताहरूको निष्कर्ष छ। यही कारण देउवा, ओली र प्रचण्ड दुवै विकल्पमा एउटै मोर्चामा उभिन खोजिरहेको संकेत देखिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖