काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले ऊर्जामन्त्री कुलमान घिसिङ लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूलाई गरेको प्रस्तावबारे विस्तृत जानकारी गराएका छन्। शनिबार दुई नेताबीच भएको भेटवार्तामा बालेनले शुक्रबार रास्वपा पक्षसँग भएका छलफल, आएका प्रस्ताव र सहमति हुन बाँकी विषयहरूबारे कुलमानलाई ब्रिफिङ गरेका हुन्।
कुलमान घिसिङनिकट स्रोतका अनुसार बालेनले रास्वपाले अघि सारेको प्रधानमन्त्री पदसम्बन्धी प्रस्तावसहित पार्टीभित्रको ‘स्टेक’ अर्थात् हिस्सेदारीको विषय अझै टुंगो नलागेको जानकारी गराएका थिए। “हिजो रास्वपाबाट के–के प्रस्ताव आयो भन्ने कुरा बालेनजीले कुलमानजीलाई सुनाउनुभएको छ,” स्रोतले भन्यो, “तर धेरै विषयमा अझै सहमति हुन बाँकी रहेको बुझिएको छ।”
शुक्रबार दिनभरि रास्वपा र बालेन पक्षका प्रतिनिधिहरूबीच सहमतिपत्रलाई अन्तिम रूप दिने प्रयास भए पनि ऊर्जामन्त्री घिसिङलाई पनि एकैपटक समेट्नुपर्ने बालेन पक्षको अडानका कारण सहमति अनिश्चित बनेको थियो। सुरुमा रास्वपा र बालेनबीच दुई पक्षीय सहमति गरेर अघि बढ्ने र पछि कुलमानलाई जोड्ने समझदारी थियो। सोहीअनुसार पद बाँडफाँड र पार्टी संरचनाभित्रको व्यवस्थापनबारे पनि प्रारम्भिक छलफल भएको थियो।
तर अन्तिम समयमा बालेन पक्षले कुलमानलाई पनि तत्कालै समेटेर त्रिपक्षीय सहमति गर्नुपर्ने धारणा राखेपछि वार्ता थप जटिल बनेको बताइएको छ। यसै सन्दर्भमा शनिबार बालेन र कुलमानबीच प्रत्यक्ष भेटवार्ता भएको हो, जहाँ रास्वपाको प्रस्ताव, सम्भावित राजनीतिक सहकार्य र वैकल्पिक शक्तिहरूको एकीकरणबारे गहिरो छलफल भइरहेको छ।
हाल बालेन–कुलमानबीचको छलफल कहाँ भइरहेको छ भन्नेबारे सार्वजनिक गरिएको छैन। तर स्रोतहरूका अनुसार यस भेटपछि मात्रै रास्वपा, बालेन र कुलमानबीचको सम्भावित सहमतिको दिशा स्पष्ट हुनेछ। रास्वपाका एक नेताले भने, “दुई पक्षीय सहमति मात्र भएको भए विषय टुंगिसक्थ्यो, तर अब त्रिपक्षीय छलफल भएकाले नतिजा के हुन्छ भन्ने कुरा बालेन–कुलमान भेटपछि मात्रै थाहा हुन्छ।”
वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता वा सहकार्यको चर्चा तीव्र भइरहेका बेला बालेनले कुलमानलाई रास्वपाको प्रस्ताव सुनाउनु र छलफल जारी रहनु आगामी दिनमा ठूलो राजनीतिक समीकरणको संकेतका रूपमा हेरिएको छ।
