• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

उज्यालो नेपालको स्पष्ट सन्देश: ‘कि सिकिन्छ, कि जितिन्छ’ — एक्लै चुनावमा जाने तयारी


  • धनकुटा खबर
  • .

उज्यालो नेपाल पार्टीले आफ्नो राजनीतिक अस्तित्व मासेर कुनै पनि दलसँग एकतामा नजाने स्पष्ट निष्कर्ष निकालेको छ। आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले आत्मसमर्पणको शैलीमा हुने एकता अस्वीकार गर्ने निर्णय गरेको हो।

बैठकपछि एक नेताले जानकारी दिएअनुसार, पार्टी संरक्षक कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग भएका एकतासम्बन्धी छलफल र त्यसको पृष्ठभूमिबारे केन्द्रीय समितिलाई ब्रिफिङ गरेका थिए। घिसिङले रास्वपाको रणनीतिप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै, कुलमान र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पनि रास्वपातर्फ आउँदैछन् भन्ने सन्देश फैलाएर जनमत बढाउने प्रयास भए पनि पार्टीको अस्तित्व, नाम वा चुनाव चिह्न स्वीकार गर्ने मनसाय नदेखिएको बताए।

उनले बैठकमा भने, ‘रास्वपाको उद्देश्य कुलमान र बालेनलाई प्रयोग गरेर माहोल बनाउने देखियो, तर अस्तित्व स्वीकार गर्ने स्पष्टता देखिएन।’ रास्वपाले पार्टीको नाम, चुनाव चिह्न वा नेतृत्व संरचनामा उज्यालो नेपाल पार्टीलाई बराबरी हैसियत दिन नचाहेको निष्कर्ष बैठकमा प्रस्तुत गरिएको थियो।

बैठकमा सहभागी अधिकांश नेताहरूले यदि सहअस्तित्व स्वीकार नगर्ने हो भने एक्लै चुनावमा जानुपर्ने धारणा राखेका थिए। नेताहरूको बुझाइमा यसपटक एक्लै चुनावमा जाँदा “कि सिकिन्छ, कि जितिन्छ” भन्ने अवस्था आउनेछ। पार्टीले यसलाई दीर्घकालीन राजनीतिक यात्राको अभ्यास र अवसरका रूपमा लिएको बताइएको छ।

बैठकमा संरक्षक घिसिङले रास्वपाबाट मेयर बालेन शाहलाई पनि धोका हुनसक्ने आशंका व्यक्त गरेका थिए। उनका अनुसार बालेनले रवि लामिछानेसँग पाँच वर्ष प्रधानमन्त्रीको ग्यारेन्टी मागेको भए पनि त्यसलाई रास्वपाले स्वीकार गरेको छैन। साथै, रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने औपचारिक निर्णयसमेत अहिलेसम्म नगरेको भन्दै उनले सावधानी अपनाउनुपर्ने धारणा राखे।

यद्यपि पार्टीले एकताको ढोका पूर्ण रूपमा बन्द गरेको छैन। बैठकले सबै दलको सहअस्तित्व सुनिश्चित हुने गरी एकताको पक्षमा आफूहरू रहेको र आवश्यक सहकार्यका लागि वैकल्पिक तथा अग्रगामी राजनीतिक दलहरूसँग संवाद जारी राख्ने निर्णय गरेको छ। यसका लागि पार्टी अध्यक्षलाई एकताको संवाद अगाडि बढाउने अधिकार प्रदान गरिएको छ।

उज्यालो नेपाल पार्टीले आत्मसम्मान, पहिचान र राजनीतिक हैसियतलाई केन्द्रमा राखेर आगामी निर्वाचनमा जाने रणनीति स्पष्ट पारेको छ। पार्टीभित्र बढ्दो आत्मविश्वास र “एक्लै भए पनि अघि बढ्ने” निष्कर्षले वैकल्पिक राजनीतिक ध्रुवीकरणको समीकरणलाई थप रोचक बनाउने संकेत देखिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖