काठमाडौ । तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित दोरम्बा सैलुङ गाउँपालिकाकी पूर्वउपाध्यक्ष कृशला घिसिङ उज्यालो नेपाल पार्टीमा प्रवेश गरेकी छन्। आइतबार आयोजित एक कार्यक्रममा उनले औपचारिक रूपमा उज्यालो नेपाल पार्टीको सदस्यता ग्रहण गरेकी हुन्।
२०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार बनेर दोरम्बा सैलुङ गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी घिसिङ पछिल्लो समय पार्टीको राजनीतिक दिशा र भूमिकाप्रति असन्तुष्ट थिइन्। उज्यालो नेपाल पार्टीमा प्रवेश गर्दै उनले पुराना राजनीतिक दलहरूले वर्तमान पुस्ता, विशेषगरी जेन–जी आन्दोलनको भावना र अपेक्षालाई समेट्न नसकेको बताइन्।
उनले भनिन्, “देशको राजनीतिक परिवर्तनमा युवापुस्ताको भूमिका निर्णायक छ, तर पुराना पार्टीहरू अझै पनि पुरानै सोच र शैलीमा अड्किएका छन्। जेन–जी आन्दोलनले उठाएका मुद्दा र जनआकांक्षा बोक्न नसक्ने पार्टीमा अब बसिरहन सकिनँ।”
रामेछाप जिल्लालाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको गृहजिल्ला मानिन्छ। सोही जिल्लामा पछिल्लो समय उज्यालो नेपाल पार्टीप्रति आकर्षण बढ्दै गएको देखिन्छ। माओवादी केन्द्रका पूर्व नेताहरू रामकृष्ण लामा, खड्ग घिसिङ, अञ्जान लामा लगायतका पूर्व जनप्रतिनिधि तथा कार्यकर्ता यसअघि नै उज्यालो नेपाल पार्टीमा प्रवेश गरिसकेका छन्।
उज्यालो नेपाल पार्टीले आफूलाई वैकल्पिक र जनमुखी राजनीतिक शक्तिका रूपमा प्रस्तुत गर्दै आएको छ। पार्टी नेतृत्वले पुराना दलबाट निराश बनेका जनप्रतिनिधि, युवा र पेशागत समूहलाई समेट्दै संगठन विस्तार गरिरहेको बताएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार, स्थानीय तहमा अनुभव भएका जनप्रतिनिधिहरूको प्रवेशले उज्यालो नेपाल पार्टीलाई आगामी निर्वाचनमा संगठनात्मक र राजनीतिक रूपमा बलियो बनाउन सहयोग पुग्नेछ। विशेषगरी रामेछापजस्ता जिल्लामा पुराना दलबाट वैकल्पिक शक्तितर्फ हुने यो झुकावले राष्ट्रिय राजनीतिमा पनि प्रभाव पार्न सक्ने आँकलन गरिएको छ।
