काठमाडौँ — जेनजी अभियानकी अभियन्ता टासी ल्हान्जोम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक तर्फको प्रारम्भिक सूचीमा आदिवासी जनजाति समूहबाट सबैभन्दा बढी मत ल्याउने शीर्ष तीन उम्मेदवारमध्ये पर्न सफल भएकी छन्।
सार्वजनिक प्रारम्भिक मतपरिणामअनुसार टासीले १३ हजार ७२ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेकी हुन्। मतपरिणामपछि उत्साहित देखिएकी उनले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थकप्रति आभार व्यक्त गरेकी छन्।
उनले लेखेकी छन्, “तपाईंहरूको विश्वास र समर्थनकै परिणाम हो। अब हामी नेतृत्व गर्दै विजयको यात्रामा अघि बढ्नेछौँ।”
आदिवासी जनजाति समूहअन्तर्गत पहिलो स्थानमा उत्तम बहादुर गुरुङ रहेका छन्। उनले कुल १६ हजार १२ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा सत्यकला राई रहँदै उनले १४ हजार २ सय १ मत ल्याएकी छन्।
प्रारम्भिक सूचीको यो मतपरिणामले रास्वपाभित्र समानुपातिक उम्मेदवार चयन प्रक्रियामा प्रतिस्पर्धा थप स्पष्ट बनेको देखिएको छ।
