• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

रास्वपासँग फेरि संवादमा जोडिए कुलमान, सह-सभापति सहित ३० प्रतिशतको बटमलाइन !


  • धनकुटा खबर
  • .

काठमाडौ । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक बन्दसूची बुझाउने अन्तिम समयमा ऊर्जामन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिच वार्ता पुनः सुरु भएको छ।

आइतबार राति घिसिङले कार्यकारी सभापति पद मागेपछि भाँडिएको वार्तालाई निष्कर्षमा पुर्‍याउन जेन-जी अभियन्ताहरूले निर्णायक पहल थालेका छन्। स्रोतका अनुसार अहिले कुलमान र रास्वपाबिच संवाद भइरहेको छ।

रास्वपा र कुलमानको संवाद टुट्न नदिन सुदन गुरुङसहितका जेन-जी अगुवाहरू सक्रिय भएका छन्। गुरुङ, जेम्स कार्की र ओजस्वी थापाले कुलमान घिसिङलाई आफैंले गाडीमा राखेर बालेन शाह र रवि लामिछाने भएको स्थानमा वार्ताका लागि लगेका छन्।

यता, रास्वपा सभापति रवि लामिछाने पनि समानुपातिक सूचीलाई अन्तिम रूप दिन बसिरहेको केन्द्रीय समितिको बैठक बिचमै छाडेर घिसिङसँगको वार्ताका लागि निस्किएका छन्।

यसअघि सुदन गुरुङले रास्वपा कार्यालयमै पुगेर कुलमानलाई पनि समेट्न नेतृत्वलाई दबाब दिएका थिए। स्रोतका अनुसार वार्तामा घिसिङले रास्वपामा सह-सभापतिको जिम्मेवारी माग गरेका छन्।

साथै, उनले केन्द्रीय समिति, समानुपातिक बन्दसूची र प्रत्यक्ष उम्मेदवारतर्फ उज्यालो नेपाल पार्टीलाई ३० प्रतिशत हिस्सा चाहिने बटमलाइन अघि सारेका छन्।

तर, रास्वपा पक्षले भने भर्खरै बनेको पार्टीलाई ३० प्रतिशत हिस्सा दिन नसकिने अडान राखेको छ। रास्वपाले घिसिङलाई उपसभापति र पार्टी संयन्त्रमा १५ प्रतिशत हिस्सासम्म दिन सकिने प्रस्ताव गरेको बुझिएको छ।

पद र प्रतिशतमा कुरा नमिलेर अनिर्णित बनेको वार्तालाई युवाहरूको सहजीकरणमा पुनः ट्रयाकमा ल्याउने प्रयास भइरहेको छ।

उता, निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिकको बन्दसूची बुझाउने समयसीमा आज (सोमबार) सम्मका लागि तोकेको छ।

वार्ता निष्कर्षमा नपुग्दै समय घर्कन सक्ने जोखिम देखेपछि उज्यालो नेपाल पार्टीका नेताहरू बन्दसूची बोकेर आयोग पुगेका छन्।

‘सहमति भयो भने त भयो, तर भएन भने समय गुज्रिन्छ भनेर हामीले आयोगमा पनि ११० जनाको नाम पेस गर्न तयारी अवस्थामा राखेका हौं,’ आयोग पुगेका उज्यालो नेपालका एक नेताले भने।

काठमाडौं महानगरका मेयर बालेन शाह र रास्वपाबिच यसअघि नै सहमति भइसकेको अवस्थामा कुलमानलाई पनि सोही मोर्चामा ल्याउन सकिए वैकल्पिक शक्ति बलियो हुने बुझाइ जेन-जी अभियन्ताहरूको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖