नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारहरूको बन्दसूची तोकिएको समयभित्र निर्वाचन आयोगमा बुझाउन सकेको छैन। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार बिहानसम्म पनि नामावली बुझाउन नसकिएको स्वीकार गरेका छन्।
निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पुस १३ र १४ गते (आइतबार र सोमबार) बुझाउन समय दिएको थियो। सोहीअनुसार कांग्रेसभित्र रातभर नाम टुंग्याउने र सूची बुझाउने प्रयास जारी रह्यो। सुरुवाती चरणमा नेता मीन विश्वकर्मा र मुख्य सचिव पौडेल नामावली बोकेर निर्वाचन आयोग पुगेका थिए। पछि मंगलबार बिहान करिब चार बजे महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री जीवन परियार पनि आयोग पुगे।
तर आयोगमा बुझाउन लगिएको फाइलमा पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर नभएको पाइएपछि आयोगका कर्मचारीले नामावली स्वीकार गरेनन्। त्यसपछि महामन्त्री शर्माले मुख्य सचिव पौडेल र नेता विश्वकर्मालाई सभापतिको हस्ताक्षर गराउन महाराजगञ्जस्थित देउवा निवास पठाएका थिए।
मुख्य सचिव पौडेलले अनलाइनखबरसँग कुरा गर्दै भने, “अहिले हामी निर्वाचन आयोगभन्दा बाहिर छौं, काम टुंग्याउँदैछौं।” समाचार तयार पार्दासम्म उनीहरू आयोग फर्किसकेका थिएनन्।
यद्यपि निर्वाचन आयोगका एक कर्मचारीका अनुसार कांग्रेसले पहिल्यै निवेदन दिएको र सनाखत प्रक्रिया पूरा भइसकेकाले आवश्यक कागजात पूरा भए आजै पनि नामावली बुझाउन सक्ने अवस्था रहेको छ।
सभापतिको हस्ताक्षर अभावले प्रक्रिया रोकिनुले कांग्रेसभित्र समानुपातिक सूची टुंग्याउने क्रममा अझै सहमति जुटाउन बाँकी रहेको संकेत गरेको छ। अब पार्टीले समयमै आवश्यक प्रक्रिया पूरा गरेर बन्दसूची बुझाउन सक्छ कि सक्दैन भन्ने चासो बढेको छ।
