काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी सहिद रसिक खतिवडाकी आमा रचना खतिवडालाई समानुपातिक उम्मेदवारको सूचीमा राखेको छ। रचना खतिवडाका अनुसार, रास्वपा सभापति रवि लामिछानेले व्यक्तिगत रूपमा भेटेर उनलाई सूचीमा बस्न प्रस्ताव गरेका थिए।
जेनजी आन्दोलनको क्रममा भदौ २३ गते बानेश्वरमा भएको प्रदर्शनमा रसिक खतिवडा छाती र पेटमा गोली लागेर निधन भएको थियो। आमा रचना खतिवडाले त्यस पीडाबाट प्रेरणा लिएर राजनीतिमा प्रवेश गरेकी हुन्।
भदौ २३ को घटनामा रसिकसहित १९ जनाको ज्यान गएको थियो। त्यसपछि भदौ २४ गते देशमा थप तनाव सिर्जना भयो, सरकारी कार्यालय, नेताहरूका निवास तथा व्यापारीका महल जलेर ध्वस्त भए। स्थिति नियन्त्रण गर्न नसकिँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर प्रधानमन्त्री निवास छाडेका थिए। त्यसपछि जेनजी आन्दोलनको पहलमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भयो।
यसै क्रममा, फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि दलहरूले समानुपातिक बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेका छन्। रास्वपाले पनि आफ्नो सूचीमा रचना खतिवडालाई खस–आर्य महिला क्लस्टरमा नवौँ नम्बरमा राखेको छ। उक्त क्लस्टरमा प्रतिभा रावल पहिलो, त्यसपछि विदुषी राणा, लिमा अधिकारी (आचार्य), श्रद्धा कुँवर, समीक्षा बास्कोटा, टीका संग्रौला, क्रान्तिशिखा धिताल र मञ्जु भूसालको नाम क्रमशः समावेश छ।
रास्वपाले आन्तरिक प्राइमरी निर्वाचनबाट प्राप्त मतका आधारमा उम्मेदवारहरू चयन गरेको जनाएको छ। बालेन शाह र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँगको सहमतिअनुसार, कुल ११० जनाको नाम समानुपातिक सूचीमा समेटिएको छ।
समानुपातिक सूचीमा चर्चित कलाकार र गायक प्रकाश सपुत, क्रिकेटर ज्ञानेन्द्र मल्ल, अभिनेत्री रिमा विश्वकर्मा, डा. रामजी राम, तथा अधिकारकर्मी मोहना अन्सारी पनि समावेश छन्। सूची बुझाउन रास्वपा नेता कविन्द्र बुर्लाकोटी र विपीन आचार्य निर्वाचन आयोग पुगेका थिए।
रास्वपा र उज्यालो नेपाल पार्टीबीच पार्टी एकता भइसकेको छ। सहमतिअनुसार उज्यालो नेपाल पार्टीले रास्वपाको केन्द्रीय कमिटीमा वरिष्ठ उपसभापतिसहित महामन्त्री र ३० प्रतिशत हिस्सा पाउनेछ। पार्टीको नाम, झण्डा र चुनाव चिह्न रास्वपाकै रहनेछ। फागुन २१ को निर्वाचनमा उज्यालो नेपाल पार्टीबाट प्रत्यक्षतर्फ ३० प्रतिशत र समानुपातिकतर्फ २० प्रतिशत उम्मेदवार उठाउने सहमति भएको छ।
