• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलसँग निकट मानिने नेताहरूले धमाधम पार्टी परित्याग गर्दै


  • धनकुटा खबर
  • .

नेकपा (एमाले) का उपाध्यक्ष विष्णु प्रसाद पौडेलसँग निकट मानिने नेताहरूले धमाधम पार्टी परित्याग गर्न थालेका छन्। विशेषगरी पौडेलको गृहजिल्ला रुपन्देहीमा उनका विश्वासपात्र नेताहरूले एमाले छोड्दै वैकल्पिक राजनीतिक धार रोज्न थालेपछि पार्टीभित्र तरंग सिर्जना भएको छ।

रुपन्देही क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद बासुदेव घिमिरेले मंगलबार राति सामाजिक सञ्जालमार्फत एमाले छोडेको घोषणा गरेपछि यो क्रम तीव्र बनेको हो। राति करिब साढे १० बजे फेसबुक स्टाटस लेख्दै घिमिरेले अब उप्रान्त आफू एमालेको कुनै जिम्मेवारीमा नरहने स्पष्ट पारेका थिए। घिमिरेको घोषणा भएको केही घण्टामै बुधबार बिहान धकधईका सन्जय गुप्ताले पनि एमाले छाड्ने निर्णय सार्वजनिक गरेका छन्।

एमाले छोडेका घिमिरे र गुप्ता दुवै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने तयारीमा रहेको बताइन्छ। घिमिरे विघटित प्रतिनिधिसभाका सांसद हुन् भने उनी यसअघि तिलोत्तमा नगरपालिकाका मेयरसमेत भइसकेका थिए। घिमिरेलाई अघिल्लो निर्वाचनमा एमाले उपाध्यक्ष पौडेलकै जोडबलमा खिमलाल भट्टराईको टिकट काटेर उम्मेदवार बनाइएको थियो। त्यसअघि पनि लामो समय कोरियामा रोजगारी गरेर फर्किएका घिमिरेलाई तिलोत्तमाको मेयरको टिकट दिलाउन पौडेलको प्रमुख भूमिका रहेको पार्टीभित्र चर्चा हुँदै आएको थियो।

तर आसन्न फागुन २१ गते हुने निर्वाचनमा एमालेले रुपन्देही–५ बाट खिमलाल भट्टराईलाई अघि सार्ने तयारी गरेपछि घिमिरे असन्तुष्ट बनेका थिए। उनले सो क्षेत्र नपाए क्षेत्र नम्बर ३ बाट भए पनि उम्मेदवारी दिने इच्छा व्यक्त गरे पनि स्थानीय कमिटीले सिफारिस नगरेपछि अन्ततः एमाले परित्याग गर्ने निर्णयमा पुगेको बताइन्छ। रास्वपाले उनलाई रुपन्देही–२ बाट उम्मेदवार बनाउने तयारी गरेको चर्चा छ, जुन क्षेत्रबाट उपाध्यक्ष पौडेल स्वयं चुनाव लड्दै आएका छन्।

यस्तै, धकधईका सन्जय गुप्ता पनि मधेसी समुदायमा राम्रो पकड भएका नेता मानिन्छन्। जीवनभर एमालेमा सक्रिय रहे पनि पार्टीभित्र कुनै प्रभावशाली जिम्मेवारी नपाएको गुनासो गर्दै उनले पनि रास्वपामा जाने तयारी थालेको स्रोतको दाबी छ।

यसअघि नै पौडेलका स्वकीय भइसकेका सैनामैना नगरपालिकाका पूर्वमेयर चित्र कार्की पनि रास्वपातर्फ लागिसकेका छन्। उनी पौडेलकै समर्थनमा पार्टी जिल्ला सचिव र दुई पटक मेयर उम्मेदवार बनेका थिए। २०७४ मा मेयर जितेका कार्की २०७९ मा पराजित भएका थिए र आगामी दिनमा फेरि मेयरकै दाबीका साथ रास्वपामा सक्रिय हुने चर्चा छ।

त्यसैगरी, पौडेलकै सिफारिसमा एमाले प्रदेश कमिटी सदस्य बनेकी ठेकेदार व्यवसायी मन्जु भुसाल पनि रास्वपा प्रवेश गरिसकेकी छन्। उनी लुम्बिनी निर्माण व्यवसायी संघकी अध्यक्षसमेत हुन् र रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा उनको नाम समावेश छ। दुई दिन अघिसम्म एमालेमै रहेकी भुसालको एकाएक पार्टी परिवर्तनले थप चर्चा पाएको छ।

एमालेबाट सहकारी बोर्ड सदस्य रहेकी ज्ञानु पौडेल र राष्ट्रिय युवा संघकी नेतृ श्रद्धा कुँवर पनि रास्वपाको समानुपातिक सूचीमा परेका छन्।

एकपछि अर्को गर्दै विष्णु पौडेल निकट नेताहरू एमाले छाड्दै रास्वपामा प्रवेश गर्न थालेपछि रुपन्देहीको राजनीतिक समीकरण फेरिने संकेत देखिएको छ। आगामी निर्वाचनमा यसको प्रभाव कति पर्छ भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖