• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

रबिलाई जेलबाट छुटाउन ३० लाख जमानत दिएका प्रधानलाई पनि समानुपातिकको टिकट


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको जमानत बसेका मनोहर प्रधान पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा परेका छन्। बुटवलस्थित सुप्रिम सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा लामिछानेलाई थुनामुक्त गराउन प्रधानले ३० लाख रुपैयाँ जमानत दिएका थिए।

उक्त मुद्दामा कुल बिगो १० करोड ९९ लाख ३६ हजार रुपैयाँ कायम गरिएको थियो। त्यसमा लामिछानेले आफ्नो भागमा पर्ने २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको तीन थान बैंक ग्यारेन्टी पत्र अदालतमा बुझाएका थिए। प्रभु बैंकका ती ग्यारेन्टी पत्र शंकरप्रसाद श्रेष्ठ, रामानन्द घिमिरे र मनोहर प्रधानले उपलब्ध गराएका थिए। सोही आधारमा लामिछाने थुनामुक्त भएका थिए।

यी तीनमध्ये मनोहर प्रधान रास्वपाले बुझाएको समानुपातिक सूचीमा आदिवासी जनजाति पुरुषतर्फ चौथो नम्बरमा समावेश छन्। तर, समानुपातिक उम्मेदवार छनोटका लागि पार्टीले गराएको प्राइमरी निर्वाचनमा प्रधान निकै पछाडि परेका थिए। रास्वपाले आदिवासी जनजाति क्लस्टरमा सबैभन्दा धेरै मत ल्याउने नौ जनाको सूची सार्वजनिक गर्दा त्यसमा प्रधानको नाम थिएन। पार्टीको मोबाइल एपमार्फत भएको प्राइमरीमा प्रधान १७औँ स्थानमा रहँदै ८ हजार २ सय ९२ मतमा सीमित भएका थिए।

यसै क्लस्टरमा प्रधानभन्दा दोब्बरभन्दा बढी मत ल्याएर पहिलो स्थानमा रहेका उत्तमबहादुर गुरूङ भने समानुपातिक उम्मेदवारको अन्तिम सूचीमै परेनन्। गुरूङ सुदूरपश्चिम प्रदेशका हुन्।

पेसाले चिकित्सक रहेका प्रधान रास्वपाको बागमती प्रदेश सल्लाहकारसमेत थिए। सेतोपाटीसँगको कुराकानीमा उनले लामिछानेलाई ३० लाख रुपैयाँ व्यक्तिगत रूपमा ग्यारेन्टी दिएको स्वीकार गरे पनि त्यसको समानुपातिक सूचीसँग कुनै सम्बन्ध नरहेको दाबी गरे।

‘पैसाकै आधारमा समानुपातिक पाउने हो भने अरू धेरै हुने थिए, मनोहर प्रधान नै किन पर्थ्यो?’ उनले भने, ‘३० लाखमा टिकट पाइने भए त हजारौं लाइन लाग्थे। मैले व्यक्तिगत खाताबाट सहयोग गरेको हुँ, भविष्यमा जेन–जी आन्दोलन हुन्छ, सरकार ढल्छ र म समानुपातिकमा पर्छु भनेर दिएको होइन।’

उनले चितवनमा आफ्नै क्षेत्रका सांसद भएकाले लामिछानेलाई सहयोग गरेको बताए। ‘२०८४ अघि चुनाव हुन्छ भनेर सहयोग गरेको होइन,’ प्रधानले भने, ‘आदिवासी जनजातितर्फ बागमती प्रदेशमा मेरो सबैभन्दा धेरै मत आएको छ, नेपालभर पुरुषतर्फ तेस्रो स्थानमा छु।’

तर, रास्वपाले सार्वजनिक गरेको नौ जनाको सूचीमा दुई जना मात्र पुरुष (उत्तमबहादुर गुरूङ र मिलन लिम्बू)को नाम समावेश थियो, जसमा प्रधान परेका थिएनन्। साथै, २०७९ को निर्वाचनपछि चितवनमा सञ्चालन गरिएको मोबाइल क्लिनिकमा पनि प्रधानले सहयोग गरेको खुलेको छ।

२५ वर्षदेखि चिकित्सा पेसामा आबद्ध रहेको र १७ वर्षदेखि प्राध्यापन गर्दै आएको बताउँदै प्रधानले पार्टीले तय गरेको मापदण्ड पूरा गरेर नै आफू छनोटमा परेको दाबी गरे। ‘४७ जनामध्ये छानिएको हुँ,’ उनले भने।

उता, सबैभन्दा धेरै मत ल्याएर पनि सूचीमा नपरेका गुरूङले अन्तिम चरणमा कुलमान घिसिङ र बालेन शाहसँग भएको सहमतिका कारण आफ्नो नाम छुट्न गएको हुनसक्ने बताएका छन्। ‘हतारमा निर्णय हुँदा अर्कै पर्‍यो कि भन्ने चर्चा छ,’ उनले भने, ‘प्रदेश समितिले केन्द्रका नेताहरूसँग यसबारे कुरा गरिरहेको छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖