• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

हर्कको नजरमा रास्वपाका तीन शीर्ष नेताः रवि आपराधिक गतिविधिबाट आएको, कुलमान एमसीसीको मतियार र बालेन विदेशी शक्तिबाट परिचालित


  • धनकुटा खबर
  • .

काठमाडौं, १७ पुस । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन शीर्ष नेताहरुको छवि स्वच्छ नरहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले रास्वपाका सभापति रवि लामिछाने आपराधिक गतिविधिबाट आएको, कुलमान घिसिङ एमसीसीको मतियार रहेको र बालेन शाह विदेशी शक्तिबाट परिचालित रहेको आरोप लगाएका हुन् ।

उनले रास्वपा सभापति लामिछानेको अहिले पनि ९÷१० वटा काण्ड रहेको, अमेरिकामा पनि दुई चार वटा काण्ड बाँकी नै रहेको बताए । अहिले नेपालमा पनि ५÷६ करोड धरौटी बुझाएर थुनामुक्त भएको, सत्ता र शक्तिका लागि विदेशीलाई देश नै सुम्पिन पनि तयार रहेको पात्रको रुपमा उनले रास्वपाका सभापति लामिछानेलाई चित्रण गरे ।

‘रवि लामिछानेजीको कुरा गर्दाखेरी उहाँसँग ९÷१० वटा काण्ड छ । युएसएमा पनि रहेछ दुई÷चार वटा । उहाँ आफैं अपराधिक गतिविधिबाट आउनुभएको भन्ने पुष्टि त्यहाँबाट हुन्छ । अहिले पनि ५÷६ करोड धरौटी बुझाएर उहाँ निस्किनुभएको छ । घरी जेलबाट निस्किनुहुन्छ, घरी पस्नुहुन्छ । जुन पार्टीको विरुद्धमा उम्मेदवारी दिएर जितेको हो, त्यही पार्टीसँग गठबन्धन गरेर सरकारको मन्त्री बन्नुहुन्छ । मुकुल ढकालको संवादहरु पनि बाहिर आएको छ । छिमेकी मुलुकलाई प्रधानमन्त्री मलाई बनाइदेउ, म जे पनि सुम्पिन तयार छु भनेर त उहाँको महामन्त्रीले भनिराख्नु भएको छ,’– उनले भने ।

साथै, सरकारका मन्त्री एवं रास्वपाका नेता घिसिङ अमेरिकी विकास परियोजना एमसीसीको मतियार रहेको साम्पाङको आरोप छ । नो एमसीसी भनेर देखउन कुलमानलाई उनले चुनौति दिए । उनले भने, ‘कुलमानजीको कुरा गर्दाखेरी उहाँ एमसीसीको मतियारी गरेर आएको मान्छे हो । उहाँले पास गर्नुभएन, तर मतियारी त गर्नुभयो । एमसीसीका विभिन्न डकुमेन्टमा उहाँको नाम छ । मैले अहिले भनिराखेको छु– यदि होइन भनेर नो एमसीसी भनेर उहाँले भनेर देखाउनु नि त । आफ्नो स्वाधीनता भन्दा ठूलो हुन्छ र समृद्धि ? उहाँ पनि विदेशी प्रभुलाई ढोग्ने मान्छे नै हो ।’

साथै, रास्वपाका अर्का नेता एवं काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहको बारेमा टिप्प्णी गर्दै उनले भने, ‘बालेनजीको कुरा गर्दा–जेनजी आन्दोलनभन्दा अगाडिसम्म धेरै राम्रो थियो । तर, जेन–जी आन्दोलन पछाडि उहाँले जे देखाउनुभयो । जेन–जीलाई आन्दोलनमा आइज भन्ने । जेन–जीहरु मरे, त्यत्रो ठूलो आन्दोलन भयो । अन्त्यष्टीसम्ममा नआउने । घाइतेलाई भेट्न नजाने । त्यस्तो पनि हुन्छ र भनेको ? म आन्दोलनको फ्रन्टलाइनमा हुन्छु । सिंहदरबार जल्नेदेखि ठूलो क्षति भयो । लुकेर बस्ने, जनतासँग नभेट्ने । जो जनतादेखि भागेर हिँड्छ । रहस्यमय र खतरनाक मान्छे । अहिलेको सरकार उहाँले बनाउनुभएको हो । उहाँले कसरी त्यो गर्नुभयो भन्दाखेरी उहाँ कुनै शक्तिबाट परिचालित हुनुभएको छ । यति बुझ्नुस् विदेशी शक्तिबाटै परिचालित हुनुभएको छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖