• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

चुनावमा मिलेर जान कांग्रेस र एमाले दुवै दल नेकपासँग पनि छलफलमा


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रियसभाको निर्वाचनमा चुनावी गठबन्धन गर्नको लागि नेपाली कांग्रेस र नेकपा एमाले दुवै दलले नेपाली कम्युनिस्ट पार्टीसँग पनि संवाद गरिरहेका छन्।

राष्ट्रियसभाको निर्वाचनमा कुनै न कुनै दलसँग मिलेर जानुपर्ने बाध्यात्मक स्थिति बनेपछि कांग्रेस र एमालेले नेकपासँग पनि छलफल सुरु गरेका हुन्।

एक्लै जाँदा अपेक्षित परिणाम नआउने भएकाले कुनै न कुनै दलसँग मिल्नुपर्ने नेकपाको पनि निष्कर्ष छ। नेपाली कम्युनिस्ट पार्टीका नेता जगन्नाथ खतिवडाले राष्ट्रियसभाको निर्वाचनलाई केन्द्रित गरेर दुवै दलसँग छलफल भइरहेको बताए।

उनले भने, ‘अनौपचारिक रूपमा विभिन्न माध्यमबाट छलफल भइरहेको छ। त्यो स्वाभाविक पनि हो। तर अहिलेसम्म कुनै कमिटी वा वार्ता टोली बनाएर भएको होइन। निर्वाचन नजिकिँदैछ, एक दुई दिनमा निष्कर्षमा पुगिएला।’

उनले एमालेसँग भन्दा पनि विगतमा गरेको सहकार्यको आधारमा कांग्रेससँग गठबन्धन हुनसक्ने सम्भावना बढी रहेको बताए।

उनले थपे, ‘एमालेले पनि विभिन्न माध्यमबाट संवाद गरिरहेको छ। राजनीतिमा सहकार्य नै हुँदैन भन्ने होइन। जोसुकैसँग हुनसक्छ तर एमालेसँग भन्दा कांग्रेससँग कुरा मिल्ने सम्भावना धेरै छ।’

त्यसो त माघ ११ मा हुने राष्ट्रिय सभाको निर्वाचनलाई केन्द्रमा कांग्रेस र एमाले नै मिल्नेबारे पनि तीव्र छलफल भइरहेको छ। एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रियसभामा मात्रै नभई आगामी निर्वाचनसम्म जेनजी आन्दोलनअघिको गठबन्धन लैजानुपर्नेमा देखिन्छन्।

तर कांग्रेसका एकथरी नेताहरूले राष्ट्रियसभा निर्वाचनमा एमालेसँग भन्दा नेकपासँग मिल्दा आफूलाई धेरै फाइदा हुने भन्दै त्यता मिल्न जोड दिइरहेका छन्।

कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पनि एमालेबाहेक अन्य दलसँग पनि आफूहरू छलफलमा रहेको र निष्कर्षमा नपुगेको बताए।

आफूहरूले पनि कांग्रेस मात्रै नभई नेकपासँग पनि छलफल गरिरहेको एमालेका एक नेताले बताए। फागुन २० देखि रिक्त हुन लागेको १९ मध्ये १८ स्थानका लागि निर्वाचन हुँदै छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖