• Sunday 4th of October 2026

कण्डम किन्दा भारी कर तिर्नुपर्ने…


  • धनकुटा खबर
  • .

काठमाडौं । चीनमा १ जनवरीदेखि मानिसहरूले गर्भनिरोधक सामग्रीमा १३ प्रतिशत बिक्री कर तिर्नुपर्नेछ । अर्कोतर्फ बाल हेरचाह सेवाहरू करमुक्त हुनेछन्। यो कदम विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा जन्मदर बढाउने प्रयासको हिस्सा हो।

गत वर्ष अन्त्यतिर घोषणा गरिएको कर प्रणालीको संशोधनले १९९४ देखि लागू भइरहेका धेरै छुटहरू हटाएको छ । पहिले चीनले दशकौँसम्म एक-सन्तान नीति लागू गरिरहेको थियो। त्यो समयमा गर्भनिरोधक लगायत जन्मदर घटाउने सेवामा कर छुट थियो ।

पछिल्लो समय बेइजिङले युवाहरूलाई विवाह गर्न र दम्पतीलाई बच्चा जन्माउन प्रोत्साहित गर्न निकै प्रयास गरिरहेको छ। आधिकारिक तथ्याङ्कअनुसार चीनको जनसंख्या लगातार तीन वर्षदेखि घटेको छ । २०२४ मा मात्र ९.५४ मिलियन बच्चा जन्मिएका छन्। यो दशकअघिको जन्मदरको आधा हो ।

जन्मदर बढाउने प्रयासको रूपमा बढाइएको करले केही चिन्ता पनि बढाएको छ । गर्भनिरोधक सामग्री कन्डम, गर्भनिरोधक चक्की र उपकरणमा कर लगाइएपछि अनिच्छित गर्भधारण र एचआईभी दरबारे चिन्ता बढेको छ । आलोचकहरूले भनेका छन् – महँगो कन्डमले मात्र बच्चा जन्माउने निर्णयमा प्रभाव पार्दैन।

बेइजिङस्थित यु वा पपुलेशन रिसर्च इन्स्टिच्युटको २०२४ को प्रतिवेदनअनुसार चीन बच्चा पाल्न सबैभन्दा महँगो देशहरूमध्ये एक हो। विद्यालय शुल्क र प्रतिस्पर्धात्मक शैक्षिक वातावरणले खर्च बढाएको छ, साथै महिलाहरूले काम र मातृत्व सन्तुलन गर्नुपर्ने चुनौती पनि छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖