• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

जेनजी पुस्ताको मागपछि चक्रे मिलनलाई एमालेको टिकट सिफारिस गरिएको दावी


  • धनकुटा खबर
  • .

नेकपा एमाले ले गोरखा क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा निर्वाचनका लागि मिलन गुरुङ (चक्रे मिलन) लाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ। पार्टीको आन्तरिक प्रक्रियाअनुसार गरिएको सिफारिसले गोरखाको राजनीतिक वृत्तमा चर्चा चुलिएको छ।

उम्मेदवारी सिफारिसपछि गुरुङले यो निर्णय आफ्नो व्यक्तिगत इच्छाभन्दा पनि स्थानीय जनसमुदाय र विशेषगरी जेन–जी पुस्ताबाट आएको निरन्तर माग र दबाबका कारण भएको दाबी गरेका छन्। उनले आफूलाई विश्वास गरेर अघि बढ्न आग्रह गर्ने समर्थकहरूको चाहनालाई सम्मान गर्दै उम्मेदवारी स्वीकार गरेको बताएका छन्।

विगतमा ‘गुण्डानायिके’को ट्याग पाएका गुरुङ २०५० सालदेखि एमालेको राजनीतिमा सक्रिय रहेको बताइन्छ। पछिल्ला वर्षहरूमा उनी सामाजिक सेवाका विभिन्न गतिविधिमा संलग्न रहँदै आएको दाबी गर्दै आएका छन्, जसलाई आधार बनाएर आफ्ना समर्थकहरूले उनको राजनीतिक यात्रालाई नयाँ चरणमा प्रवेश गरेको रूपमा व्याख्या गरेका छन्।

गुरुङको उम्मेदवारीबारे प्रतिक्रिया दिँदै युवा संघका केन्द्रीय सदस्य प्रविण अधिकारीले निस्वार्थ रूपमा राजनीति र समाजसेवाका लागि अघि बढ्ने व्यक्तित्वलाई गोरखामा स्वागत गर्नुपर्ने बताएका छन्। उनका अनुसार नयाँ पुस्ताको आकांक्षा र स्थानीय आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले आएको उम्मेदवारीलाई सकारात्मक रूपमा लिनु पर्ने धारणा छ।

गोरखा–२ मा गुरुङको सिफारिससँगै एमालेको चुनावी रणनीति, उम्मेदवार छनोट र स्थानीय राजनीतिक समीकरणबारे बहस सुरु भएको छ। समर्थन र आलोचना दुवैबीच यो सिफारिस आगामी निर्वाचनमा गोरखाको राजनीतिक प्रतिस्पर्धामा कस्तो प्रभाव पार्छ भन्ने विषय चासोका साथ हेरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖