• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

आमाबुवा पक्राउ परेपछि मादुरोका छोराले के भने ?


  • धनकुटा खबर
  • .

काराकास । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई सोमबार अमेरिकी अदालतमा पेस गरिँदै छ। यही बेला लागुऔषध तस्करीको आरोप लागेका उनका छोरा निकोलस मादुरो गुएराले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएका छन्।

अमेरिकी सरकारको अभियोगपत्रमा ‘द प्रिन्स’ उपनाम दिइएका गुएरा भने अमेरिकी सेनाको नियन्त्रणमा छैनन्। बुवा पक्राउ परेको विषयमा टिप्पणी गर्दै उनले आफूहरू भेनेजुएलाको सडकमा देखिने चेतावनी दिएका छन्। ‘तिमीहरूले हामीलाई भेनेजुएलाका सडकहरूमा देख्नेछौ,’ उनले भिडियो सन्देशमा भनेका छन्, ‘गद्दार को थियो भन्ने कुरा इतिहासले बताउनेछ।’ अमेरिकाले मादुरोका छोरा गुएरालाई पनि लागुऔषध तस्करीको अभियोग लगाएको छ।

शनिबार बिहानै अमेरिकाले भेनेजुएलामा गरेको सैनिक कारबाहीमा कति मानिस हताहत भए भन्ने यकिन विवरण अझै आइसकेको छैन। तर आक्रमणको भोलिपल्ट स्थानीय बासिन्दाले ठुलो विनाशको सामना गरिरहेका छन्। रोयटर्सका अनुसार राजधानी काराकास नजिकैको क्याटिया ला मार सहरका थुप्रै घर ध्वस्त भएका छन् भने केहीमा क्षति पुगेको छ।

स्थानीय जोनाथन मलोरा र एन्जल अल्भारेजले शनिबार विस्फोटको ठुलो आवाज आएपछि आफूहरू ब्युँझिएको बताएका छन्। मोटरसाइकल ट्याक्सी चालक मलोराले आफ्ना छोराछोरी जोगिनुलाई भाग्यको खेल मानेका छन्। ‘यो नितान्त भाग्य हो कि उनीहरूले मेरा बच्चाहरूलाई मारेनन्,’ आक्रमणबाट जोगिएका उनले भने। अर्का स्थानीय अल्भारेजले विस्फोटको आवाज सुन्दा के गर्ने भन्ने भेउ नै नपाएको बताए। ‘हामी चमत्कारले मात्र बाँचेका छौँ,’ उनले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖