काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो पार्टी नेपाल’ औपचारिक रूपमा मिसिएको छ। आज रास्वपाको पार्टी कार्यालयमा दुवै पक्षबीच समझदारी भएपछि एकता प्रक्रिया टुंगिएको हो।
रास्वपाको ५९औँ केन्द्रीय कमिटी बैठकमा एकतासँगै संगठनात्मक विस्तारसमेत गरिएको छ। सो बैठकमा खगेन्द्र सुनार, सागर ढकाल, केपी खनाललगायत ७ जना नयाँ केन्द्रीय सदस्य सहभागी भई शपथ ग्रहण गरेका छन्। पार्टीका अनुसार नयाँ सदस्यहरूको सहभागिताले रास्वपाको संगठनात्मक क्षमता थप सुदृढ हुने अपेक्षा गरिएको छ।
यसै बैठकबाट रास्वपाले बालेन साहसहित २६ जनालाई केन्द्रीय सदस्यका रूपमा अनुमोदन गरेको छ। पार्टी नेतृत्वले नयाँ अनुमोदन र एकताले रास्वपाको राष्ट्रिय राजनीतिक उपस्थितिलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।
रास्वपाले पछिल्लो समय संगठन विस्तार, नयाँ शक्ति समेट्ने र आन्तरिक संरचना मजबुत बनाउने रणनीतिलाई तीव्र बनाउँदै आएको छ। खगेन्द्र सुनार समूहको प्रवेश र केन्द्रीय कमिटीको विस्तारसँगै आगामी दिनमा पार्टीको गतिविधि थप सक्रिय हुने संकेत देखिएको छ।
