• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

‘सयथरी बाजा एउटै ताल’ भन्दै बालेनले दिए माघे संक्रान्तिको शुभकामना


  • धनकुटा खबर
  • .

काठमाडौं, माघ १ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले माघे संक्रान्तिको अवसरमा शुभकामना व्यक्त गरेका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै उनले नेपालको बहुसांस्कृतिक एकतालाई जोड दिएका हुन्।

बालेनले चर्चित गीतको अंश ‘सय थरि बाजा एउटै ताल, सय थरि गोडा एउटै चाल, सब हो एउटै हामी नेपाली, एउटै हाम्रो देश नेपाल’ उद्धृत गर्दै नेपालीपनको व्याख्या गरेका छन्। उनले माघ १ गते सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर संक्रान्ति, तिलुवा संक्रान्ति वा माघीका रूपमा मनाइने उल्लेख गरे।

आफ्नो सन्देशमा बालेनले नेपालका विभिन्न समुदायले आजको दिनलाई कसरी मनाउँछन् भन्ने कुरालाई समेटेका छन्। उनले नेवार समुदायले यसलाई ‘घ्यः चाकु संल्हू’ र किरात समुदायले नयाँ वर्षको रूपमा ‘येले संवत्’ मनाउने कुरा उल्लेख गरेका छन्। त्यस्तै, थारू समुदायको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्व माघी भएको पनि उनले स्मरण गराए।

चाडपर्व मनाउने नाम र शैली फरक भए पनि सबै नेपालीको भावना एउटै भएको उनको भनाइ छ। बालेनले नेपालीहरू जोडिने, रमाउने र उत्सव मनाउने तरिकामा विविधता भए पनि अन्ततः सबै एकै भएको सन्देश दिँदै सबैमा नयाँ सुरुवात र समृद्धिको कामना गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖