काठमाडाैँ । अफगानिस्तान र पाकिस्तानबिच चर्किँदै गएको सैन्य तनावबिच शनिबार जलालाबाद सहरमा एक पाकिस्तानी लडाकू जेट खसालिएको र त्यसका पाइलटलाई जीवित अवस्थामा नियन्त्रणमा लिइएको अफगान सुरक्षा निकायहरूले जनाएका छन् । घटनाले दुई देशबीचको द्वन्द्व थप गहिरिएको सङ्केत गरेको छ ।
प्रहरी प्रवक्ता तैयब हम्मादका अनुसार जलालाबाद सहरको प्रशासनिक क्षेत्र नम्बर ६ मा उडिरहेको पाकिस्तानी लडाकू जेटलाई गोली हानी खसालिएको थियो । “जेट खसालिएपछि पाइलटलाई जिउँदै समातिएको छ”, उनले भने । पूर्वी अफगानिस्तानस्थित सेनाका प्रवक्ता वाहिदुल्लाह मोहम्मदीले पनि अफगान सेनाले जेट खसालेको र पाइलटलाई नियन्त्रणमा लिएको पुष्टि गरे ।
एएफपीका एक पत्रकारले जेटको तीव्र आवाज जलालाबादमाथि सुनिएको र त्यसपछि सहरको विमानस्थलतर्फबाट दुईवटा शक्तिशाली विस्फोटको आवाज आएको बताएका छन् । घटनास्थल वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
