• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

इरानमा अमेरिकी लडाकु विमान खसालिएपछि चालकको खोजी तीव्र


  • धनकुटा खबर
  • .

तेहरान । इरानको दक्षिणी क्षेत्रमा अमेरिकी एफ–१५ लडाकु विमान दुर्घटनामा परेपछि हराइरहेका एक चालक दलका सदस्यको खोजी कार्यलाई अमेरिकी सेनाले तीव्रता दिएको छ।

हिजो भएको उक्त घटनापछि विमानमा सवार दुईमध्ये एक पाइलटलाई भने जीवितै उद्धार गर्न सफल भएको अमेरिकी रक्षा अधिकारीहरूले जनाएका छन्। तर अर्का सदस्य अझै बेपत्ता रहेकाले खोजी अभियानमा ठुलो सैन्य शक्ति परिचालन गरिएको छ।

यसैबिच, इरानले बेपत्ता रहेका ती अमेरिकी सैनिकलाई पक्राउ गर्न सहयोग गर्ने आफ्ना नागरिकका लागि आकर्षक पुरस्कारको घोषणा गरेको छ। इरानी सरकारी सञ्चार माध्यमहरूका अनुसार ती सैनिकलाई कब्जामा लिन मद्दत गर्नेलाई झन्डै ६६ हजार डलरभन्दा बढी रकम पुरस्कार दिइने छ। यसले गर्दा बेपत्ता सैनिकको सुरक्षालाई लिएर थप चिन्ता बढेको छ।

तनाव यतिमा मात्र सीमित छैन। बेपत्ता सैनिकको खोजी र उद्धारका लागि खटिएको अर्को अमेरिकी ए- १० ‘वार्थोग’ विमानलाई पनि आफूले गोली हानेर खसालिदिएको दाबी इरानले गरेको छ। उक्त विमानका पाइलटले खाडी क्षेत्रमा खसेर ज्यान जोगाउन सफल भएको र पछि उनको उद्धार गरिएको अमेरिकी सञ्चार माध्यमहरूले पुष्टि गरेका छन्।

यसरी लगातार दुईवटा विमान खसालिएको रिपोर्ट सार्वजनिक भए तापनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेसम्म यसबारे कुनै औपचारिक टिप्पणी गरेका छैनन् । ह्वाइट हाउसले भने राष्ट्रपतिलाई यसबारे पूर्ण जानकारी गराइएको मात्र बताएको छ।

इजरायल र अमेरिकाको इरानसँगको यो युद्ध सुरु भएयता अहिलेसम्म ३६५ जना अमेरिकी सैनिकहरू घाइते भइसकेको तथ्याङ्क सार्वजनिक भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖