इरानले आफ्नो लावान टापुस्थित तेल संरचनामाथि भएको हवाई आक्रमणपछि कुवेत र संयुक्त अरब इमिरेट्समाथि मिसाइल तथा ड्रोन आक्रमण गरेको सरकारी टेलिभिजनले जनाएको छ।
सरकारी प्रसारण माध्यमका अनुसार लावान टापुको तेल संरचनामा आक्रमण भएको केही घण्टापछि कुवेत र इमिरेट्सतर्फ मिसाइल र ड्रोन प्रहार गरिएको हो।
इरानी राष्ट्रिय तेल प्रशोधन तथा वितरण कम्पनीका अनुसार, मङ्गलबार राति सङ्घर्षविराम घोषणा भए पनि बुधबार बिहान करिब १० बजे लावान टापुको तेल प्रशोधन केन्द्रमाथि आक्रमण भएको थियो । उक्त आक्रमणलाई कम्पनीले ‘कायरतापूर्ण’ भन्दै आलोचना गरेको छ।
हाल आगलागी नियन्त्रणका लागि सुरक्षा तथा दमकल टोली सक्रिय रूपमा खटिएको र संरचना सुरक्षित बनाउने प्रयास भइरहेको जनाइएको छ । कर्मचारीहरूलाई समयमै सुरक्षित स्थानमा सारिएको कारण मानवीय क्षति नभएको पनि पुष्टि गरिएको छ।
लावान टापुस्थित तेल प्रशोधन केन्द्र नजिकैको तेल क्षेत्रबाट निकालिएको कच्चा तेल प्रशोधन गर्ने महत्वपूर्ण केन्द्र हो, जसबाट इरानको उच्च गुणस्तरको तेल निर्यात गरिन्छ।
