• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

साउदीको सुरक्षाका लागि पाकिस्तानले पठायो १३ हजार सैनिक र लडाकू विमान


  • धनकुटा खबर
  • .

पाकिस्तानले साउदी अरेबको सुरक्षाका लागि करिब १३ हजार सेना र केही लडाकू विमान पठाएको छ।

साउदी अरबको रक्षा मन्त्रालयले विज्ञप्ति निकालेर देशको पूर्वी क्षेत्रमा रहेको अब्दुलअजीज एयर बेसमा पाकिस्तानको वायुसेनाका लडाकू विमान र सहयोगी विमानहरू तैनाथ रहेको जनाएको छ।

यस तैनाथीको उद्देश्य दुई देशका सेनाबीच समन्वय बढाउनु, परिचालन तयारीमा सुधार गर्नु र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा सुरक्षा र स्थिरतालाई सहयोग पुर्‍याउनु रहेको विज्ञप्तिले जनाएको छ।

गत वर्ष हस्ताक्षर गरिएको संयुक्त रणनीतिक रक्षा सम्झौता अनुसार करिब १३ हजार सैनिक र १० देखि १८ वटा लडाकू विमान साउदी पुगेको भनेर विभिन्न मिडियाले लेखेका छन्।

साउदीमा करिब १० हजार पाकिस्तानी सैनिक पहिलेदेखि नै उपस्थित छन्। अमेरिका र इसराइलले आक्रमण गरेपछि इरानले साउदीसहित अरू खाडी राष्ट्रमा पनि लगातार प्रहार गरेको थियो। त्यसैले साउदीको सुरक्षाका लागि पाकिस्तानले थप सैनिक पठाएको हो।

गत सेप्टेम्बरमा पाकिस्तान र साउदीले आपसी रक्षा सम्झौता गरेका थिए। तेल बेचेर धनी बनेको साउदीले लामो समयदेखि पाकिस्तानलाई आर्थिक सहायता गरिरहेको छ। एक राष्ट्रमाथि गरिएको हमलालाई दुवैमाथिको आक्रमण मान्ने उक्त सम्झौता गरेपछि भने पाकिस्तान साउदीसँग सैन्य मामलामा पनि औपचारिक रूपमा जोडियो।

अमेरिका–इरान युद्धको सुरूदेखि नै इरानले साउदी लगायत छिमेकी राष्ट्रमा लगातार प्रहार गरिरहेको छ। अहिले पाकिस्तानले रक्षात्मक रूपमा मात्रै साउदीलाई सहयोग गरिरहेको छ। तर साउदी पनि युद्धमा सहभागी भए रक्षा सम्झौताका कारण पाकिस्तान पनि युद्धमा सामेल हुन साउदीको दबाब पर्न सक्छ। त्यसैले पाकिस्तानले युद्ध अन्त्य गर्न अमेरिका र इरानबीच मध्यस्थता गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖