• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

आफूलाई ‘यशु’ जस्तै देखाउने तस्बिर विवादमा परेपछि ट्रम्पले हटाए पोस्ट


  • धनकुटा खबर
  • .

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई यशु ख्रिष्ट (जिसस) सँग तुलना गरिएको विवादास्पद तस्बिर आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलबाट हटाएका छन्।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट बनाइएको उक्त तस्बिरमा ट्रम्पले अस्पतालको शय्यामा रहेका एक बिरामीलाई निको पारिरहेको देखाइएको थियो। यो तस्बिर सार्वजनिक भएलगत्तै अमेरिकाको राजनीतिक वृत्त र धार्मिक समुदायबाट कडा आलोचना भएपछि उनले पोस्ट हटाउन बाध्य भएका हुन्।

विवादास्पद तस्बिरमा ट्रम्पले सेतो वस्त्र लगाएका छन् र उनको हातबाट निस्किएको प्रकाशले बिरामीको निधार छोएको देखिन्छ। यो दृश्य धार्मिक चित्रहरूमा यशुले बिरामी निको पारेको शैलीसँग मिल्दोजुल्दो थियो।

तस्बिरको पृष्ठभूमिमा स्ट्याच्यु अफ लिबर्टी, अमेरिकी झण्डा, लडाकु विमान, ईगल (गरुड), नर्स र प्रार्थना गरिरहेकी एक महिला देखिन्थे। ट्रम्पले भने यसलाई बचाउ गर्दै आफूले आफूलाई डाक्टरको रूपमा मात्र प्रस्तुत गर्न खोजेको दाबी गरेका छन्। उनले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘मैले त मानिसहरूलाई राम्रो बनाइरहेको डाक्टरको रूपमा सो तस्बिर राखेको थिएँ, म मानिसहरूलाई साँच्चै धेरै राम्रो बनाउँछु।’

यद्यपि, मानिसहरू झुक्किएकाले मात्र आफूले तस्बिर हटाएको उनले सीबीएस न्युजलाई बताएका छन्। ट्रम्पका कट्टर समर्थक मानिने धार्मिक व्यक्तित्वहरूले समेत यो तस्बिरको कडा विरोध गरेका छन्। क्रिस्चियन अभियन्ता सिन फ्युचले यसलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने भन्दै तत्काल हटाउन माग गरेका थिए भने अर्की कन्जरभेटिभ अभियन्ता रिली गेन्सले भगवानको खिल्ली उडाउनु हुँदैन भन्दै टिप्पणी गरेकी थिइन्। क्रिस्चियन ब्रोडकास्टिङ नेटवर्कका पत्रकार डेभिड ब्रोडीले पनि ट्रम्पलाई समर्थन गर्नेहरूले समेत यस्तो हर्कतलाई अस्वीकार गर्नुपर्ने बताएका छन्।

यो विवाद हुनुभन्दा केही समयअघि मात्र ट्रम्पले क्याथोलिक धर्मगुरु पोप लियो १४ औँको कडा आलोचना गरेका थिए। इरानमा जारी अमेरिकी र इजरायली सैन्य अपरेशनको विरोध गरेपछि ट्रम्पले पोपलाई ‘अपराध नियन्त्रणमा कमजोर’ र ‘परराष्ट्र नीतिमा भयानक’ व्यक्तिको संज्ञा दिएका थिए।

पहिलो अमेरिकी पोपका रूपमा चिनिने लियो १४ औँले इरान युद्धलाई अमानवीय हिंसा भन्दै कडा निन्दा गर्दै आएका छन्। ट्रम्पले पोपका कुराहरू गलत भएको भन्दै आणविक शक्ति सम्पन्न इरान आफूलाई स्वीकार्य नहुने अडान दोहोर्‍याएका छन्।

ट्रम्पको एकाउन्टबाट यस्तो विवादास्पद सामग्री पोस्ट भएको यो पहिलो पटक भने होइन; यसअघि फेब्रुअरीमा ओबामा दम्पतीप्रति लक्षित रंगभेदी भिडियो राखेर पछि हटाइएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖