• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

इजरायलसँगको सैन्य सम्झौता रद्द गर्ने इटालीको घोषणा


  • धनकुटा खबर
  • .

रोम । इटालीले इजरायलसँगको लामो समयदेखिको रक्षा सम्झौता निलम्बन गर्ने निर्णय गरेको छ। सैन्य उपकरणको आदानप्रदान र प्रविधि अनुसन्धानमा केन्द्रित रहेको उक्त महत्त्वपूर्ण सम्झौतालाई अगाडि नबढाउने निर्णय इटालीकी प्रधानमन्त्री जोर्जिया मेलानीले सार्वजनिक गरेकी हुन्।

भेरोनामा आयोजित एक कार्यक्रमका क्रममा मेलानीले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै सरकारले इजरायलसँगको रक्षा सम्झौताको स्वचालित नवीकरण प्रक्रिया रोक्ने निर्णय गरेको जानकारी दिइन्। सन् २००६ मा इजरायलले अनुमोदन गरेको यो सम्झौता हरेक पाँच वर्षमा स्वतः नवीकरण हुने प्रावधान थियो।

यस सम्झौताअन्तर्गत दुई देशबिच रक्षा उद्योग, सैन्य कर्मचारीको तालिम, अनुसन्धान तथा विकास र सूचना प्रविधिको क्षेत्रमा सहकार्य हुँदै आएको थियो। इटालीको यो दक्षिणपन्थी सरकारलाई पश्चिम एसियामा इजरायलको सबैभन्दा नजिकको सहयोगी मानिन्थ्यो। तर, पछिल्ला केही हप्तादेखि लेबनानमाथि भइरहेको इजरायली आक्रमण र नागरिकको मृत्युलाई लिएर इटालीले इजरायलको कडा आलोचना गर्दै आएको छ।

विशेष गरी लेबनानमा रहेका इटालियन शान्ति सैनिकको टोलीमाथि इजरायली सेनाले चेतावनी स्वरूप गोली प्रहार गरेपछि दुई देशबिचको सम्बन्धमा थप दरार उत्पन्न भएको हो। उक्त घटनामा मानवीय क्षति नभए पनि इटालीका सैन्य सवारी साधनमा क्षति पुगेको थियो।

सोही विषयमा विरोध जनाउन इटालीले इजरायली राजदूतलाई बोलाएर कडा आपत्ति प्रकट गरेको थियो। बदलामा इजरायलले पनि इटालियन राजदूतलाई बोलाएर इटालीका विदेश मन्त्रीको टिप्पणीप्रति असन्तुष्टि जनाएको छ।

इटालीका विदेश मन्त्री एन्टोनियो ताजानीले लेबनानमा इजरायली सेनाले सर्वसाधारण नागरिकमाथि गरेको आक्रमणलाई ‘अस्वीकार्य’ भन्दै निन्दा गरेका थिए। लेबनान भ्रमणका क्रममा उनले त्यहाँका राष्ट्रपति र विदेश मन्त्रीसँगको भेटमा इटालीको ऐक्यबद्धता प्रकट गर्दै निर्दोष जनतामाथिको प्रहार रोकिनुपर्नेमा जोड दिएका थिए।

इटालीको यो पछिल्लो निर्णयले इजरायललाई युरोपमा आफ्नो बलियो कूटनीतिक र सैन्य साझेदार गुमाउने जोखिममा पुर्‍याएको छ। यो घोषणाप्रति इजरायली सरकारले हालसम्म आधिकारिक प्रतिक्रिया भने दिएको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖