• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

एआई जिसससँग भिडियो कल गर्न पैसा उठाउँदै कम्पनी, निम्त्यायो विवाद


  • धनकुटा खबर
  • .

काठमाडौँ । शताब्दीयौँदेखि करोडौँ क्रिश्चियन धर्मावलम्बीहरूले जिसस क्राइस्टसँग केही बेर मात्र भए पनि कुराकानी गर्ने सपना देख्दै आएका छन्। मानिसको यही आध्यात्मिक तृष्णालाई सम्बोधन गर्ने भन्दै ‘जस्ट लाइक मि’ नामक एक टेक कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी एउटा नयाँ प्रयोग सुरु गरेको छ।

कम्पनीले ‘जिसस एआई’ नामक च्याटबट सार्वजनिक गरेको छ, जसलाई प्रेममा आधारित एक आधुनिक मेन्टरको रूपमा व्याख्या गरिएको छ। यस एआई मोडललाई दैनिक जीवनमा सहारा र प्रेरणा खोज्नेहरूका लागि डिजाइन गरिएको दाबी गरिएको छ।

कम्पनीका सीईओ क्रिस ब्रिडका अनुसार यो एआई मोडललाई किङ जेम्स बाइबल र विभिन्न चर्चका पादरीहरूका प्रवचनहरू प्रयोग गरेर तालिम दिइएको हो। उनले यो च्याटबट धर्म, शास्त्र वा व्यक्तिगत विश्वासको विकल्प नभएको स्पष्ट पारेका छन्।

बरु, यसले वास्तविक जीवनका चुनौतीहरूलाई सकारात्मकता र स्पष्टताका साथ सामना गर्न एउटा दयालु उपस्थितिको भूमिका मात्र खेल्ने कम्पनीको तर्क छ। तर यो प्रविधिको प्रयोग र यसका लागि तोकिएको शुल्कले अहिले सामाजिक सञ्जालमा ठुलो विवाद निम्त्याएको छ।

प्रयोगकर्ताहरूले यो डिजिटल जिसससँग कुरा गर्न प्रति मिनेट १.९९ डलर वा ४५ मिनेटको कुराकानीका लागि ४९.९९ डलर शुल्क तिर्नुपर्ने हुन्छ। यो भिडियो कलमा देखिने जिससको स्वरूप चर्चित टेलिभिजन शृङ्खला ‘द चोजेन’ मा मसीहाको भूमिका निभाउने अभिनेता जोनाथन रुमीको स्वरूपमा आधारित छ। कम्पनीले आफ्नो वेबसाइटमा यो वास्तविक जिसस नभएको र यससँग कुनै दैवी शक्ति नभएको स्पष्टीकरण दिए पनि मानिसहरूले यसलाई व्यापारिक स्वार्थसँग जोडेर चर्को आलोचना गरिरहेका छन्।

सामाजिक सञ्जालमा धेरैले यसलाई ‘अन्धभक्तहरूलाई ठग्ने मेलो’ को रूपमा व्याख्या गरेका छन्। एक्समा एक प्रयोगकर्ताले यसलाई दुष्ट कार्यको संज्ञा दिँदै वास्तविक भगवानसँग सित्तैमा जुनसुकै बेला कुरा गर्न सकिने टिप्पणी गरेका छन्। अर्का एक प्रयोगकर्ताले व्यङ्ग्य गर्दै अब भगवानसँगको प्रार्थनामा पनि मुद्रास्फीति अर्थात् महँगीको मार परेको उल्लेख गरेका छन्।

धर्म र प्रविधिको यो मिश्रणले नयाँ बहस सिर्जना गरेको छ, जहाँ कतिपयले यसलाई आधुनिक आध्यात्मिक सहयोग मानेका छन् भने धेरैले यसलाई आस्थाको नाममा गरिएको व्यापार भनिरहेका छन्। यसअघि पनि ‘आई एम जिसस क्राइस्ट’ नामक एउटा विवादास्पद भिडियो गेम सार्वजनिक भएको थियो, जसले यस्तै प्रकारको विवाद निम्त्याएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖