काठमाडौँ । पश्चिम एशिया तनाव कम हुने सकारात्मक संकेतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ ।
इजरायल र लेबनानबीच अकस्मात भएको युद्धविराम सम्झौता र लगत्तै इरानले महत्त्वपूर्ण व्यापारिक मार्ग हर्मुज जलमार्ग खोल्ने घोषणा गरेपछि तेल बजारमा त्यसको प्रभाव परेको हो ।
यो समाचार तयार पार्दासम्म विश्वबजारमा तेलको मूल्यमा दोहोरो अङ्कको प्रतिशतले गिरावट आएको छ।
बजारको पछिल्लो आँकडा अनुसार ब्रेन्ट क्रुडको मूल्यमा ११.७२ प्रतिशत अर्थात् ११.६५ डलरको उच्च गिरावट आएको छ। यससँगै ब्रेन्ट तेलको मूल्य प्रतिब्यारेल ८७.७५ अमेरिकी डलरमा झरेको छ। दिनको सुरुवातमा ९८ डलरभन्दा माथि रहेको यसको मूल्यमा अचानक पहिरो गएको हो ।
