• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

‘धरतीको नर्क’: ट्रम्पले भारतको बारेमा ‘विवादास्पद’ पोस्ट सेयर गरेपछि तीव्र आलोचना


  • धनकुटा खबर
  • .

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूढीवादी लेखक तथा रेडियो प्रस्तोता माइकल सेभेजको जन्मसिद्ध नागरिकतासम्बन्धी विवादास्पद सन्देश सेयर गरेका छन्।

यसमा सेभेजले वर्तमान कानुनले आप्रवासीहरूलाई गर्भावस्थाको “नवौँ महिना” मा अमेरिका पुगेर स्थानीय कानुनको फाइदा उठाउन अनुमति दिएको दाबी गरेका छन्।

ट्रम्पले सेयर गरेको सेभेजको भनाइमा लेखिएको छ, “यहाँ जन्मिएको बच्चा तुरुन्त नागरिक बन्छ र त्यसपछि उनीहरू चीन, भारत वा संसारका अन्य ‘नरक’ भनिएका ठाउँबाट आफ्नो पूरै परिवार ल्याउँछन्। यो हेर्न धेरै टाढा जानुपर्दैन। यहाँ अब अंग्रेजी बोलिँदैन।”

यसपछि भारतमा ट्रम्पको कडा आलोचना भइरहेको छ। बिहीबार साँझ भारतीय विदेश मन्त्रालयले यसबारे प्रतिक्रिया समेत दिएको छ।

अमेरिका भने ट्रम्पको विवादास्पद सामाजिक सञ्जाल पोस्टका कारण भएको क्षति कम गर्ने प्रयासमा देखिएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार भारतस्थित अमेरिकी दूतावासका प्रवक्ताले भने, “राष्ट्रपतिले भारत महान देश हो, जहाँ शीर्ष तहमा मेरा असल साथीहरू छन्, भन्नुभएको छ।”

भारतीय सञ्चारमाध्यमका प्रश्नको जवाफमा प्रवक्ताले यस्तो बताएका हुन्। तर ट्रम्पले भारतलाई “महान देश” कहिले र कहाँ भनेका थिए भन्ने स्पष्ट पारिएको छैन।

बिहीबार साँझ भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले भने, “हामीले ती टिप्पणीहरू र त्यसपछि अमेरिकी दूतावासको प्रतिक्रिया देख्यौं। ती टिप्पणीहरू स्पष्ट रूपमा जानकारीविहीन र अनुपयुक्त छन्। ती भारत–अमेरिका सम्बन्धको वास्तविकता झल्काउने खालका होइनन्, जुन लामो समयदेखि पारस्परिक सम्मान र साझा हितमा आधारित छन्।”

सेयर गरिएको पोस्टमा के छ ?

अमेरिकामा जन्मका आधारमा नागरिकता दिने विषय अहिले बहसको मुद्दा बनेको छ।

ट्रम्पले सेयर गरेको पोस्टमा माइकल सेभेजले लेखेका छन्, “आजको छोटो छलफल मैले सर्वोच्च अदालतमा जन्मसिद्ध नागरिकताबारे सुनेका बहसहरूमाथि हुनेछ। ती बहस सुनेर मलाई रिस उठ्यो, किनकि सबै कुरा कानुनी बहसमा सीमित थियो।”

उनले भनेका छन्, “अमेरिकी संविधान हवाई यात्रा सुरु हुनुअघि लेखिएको थियो। टेलिभिजन, इन्टरनेट र रेडियो आउनुअघि।”

पोस्टमा आप्रवासीका कारण अमेरिकी नागरिकलाई रोजगारी पाउन कठिनाइ भइरहेको उल्लेख गरिएको छ। उनीहरूको दाबी छ कि आप्रवासीहरूले अमेरिकीहरूको अधिकार खोसिरहेका छन्।

“यो हेर्न धेरै टाढा जानुपर्दैन। यहाँ अब अंग्रेजी बोलिँदैन। आज आउने आप्रवासी वर्गमा यस देशप्रति वफादारी लगभग छैन।”

ट्रम्पले अमेरिकन सिभिल लिबर्टिज युनियन (एसीएलयू)माथि पनि कडा टिप्पणी गरेका छन्।

उनले लेखेका छन्, “यी मानिसहरूले यस देशलाई सबै माफिया परिवारले मिलेर पनि गर्न नसक्ने क्षति पुर्‍याएका छन्। यी ल्यापटप बोकेका गुण्डा हुन्। यिनले हामीलाई लुटेका छन्, दोस्रो दर्जाका नागरिकझैँ व्यवहार गरेका छन् र ‘तेस्रो विश्व’लाई हामीमाथि हाबी हुन दिएका छन्।”

उनले थप भने, “एसीएलयूकी वकिल वाङ हाम्रो राष्ट्रिय पहिचान नष्ट गर्न चाहन्छिन्, हामीलाई चीनको उपनिवेश बनाउन चाहन्छिन्, तर यो चीनमा मात्रै सीमित छैन, भारतमा पनि लागू हुन्छ।”

यही महिनाको सुरुमा अमेरिकी सर्वोच्च अदालतले ट्रम्पको जन्मसिद्ध नागरिकता सीमित गर्ने कार्यकारी आदेशमाथि शंका व्यक्त गरेको थियो।

अधिकांश न्यायाधीश अवैध आप्रवासीका सन्तान तथा अस्थायी रूपमा अमेरिका आउने केही व्यक्तिका बच्चालाई नागरिकता नदिनु उचित हो भन्नेमा विश्वस्त देखिएका थिएनन्।

ट्रम्प प्रशासनको तर्क छ, ‘अवैध आप्रवासन रोक्न जन्मसिद्ध नागरिकता सीमित गर्नु आवश्यक छ।’ तर विरोधीहरू भन्छन्, यसले एक शताब्दीभन्दा पुरानो परम्परा उल्ट्याउनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖