• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

तेलको मूल्यमा केही गिरावट


  • धनकुटा खबर
  • .

वासिङ्टन डिसी । विश्व बजारमा कच्चा तेलको मूल्यमा मंगलबार केही कमी आएको छ। अघिल्लो सत्रमा ६ प्रतिशतले बढेको तेलको मूल्य अमेरिकी नौसेनाले इरानद्वारा बन्द गरिएको रणनीतिक रूपमा महत्त्वपूर्ण ‘स्ट्रेट अफ होर्मुज’ जलमार्ग खोल्ने संकेत देखाएपछि ओरालो लागेको हो।

पश्चिम एसियाको प्रमुख उत्पादन क्षेत्रबाट तेल आपूर्ति पुनः सुरु हुन सक्ने सम्भावनाले बजारमा सकारात्मक प्रभाव पारेको छ। सोमबार अमेरिकाले होर्मुज जलमार्गमा व्यावसायिक जहाजहरूको आवागमन पुनः सुरु गर्ने उद्देश्यले नयाँ अपरेशन सार्वजनिक गरेको थियो।

यसैबिच सिपिङ कम्पनी मेर्सकले आफ्नो अमेरिकी झण्डावाहक जहाज ‘एलायन्स फेयरफ्याक्स’ अमेरिकी सैन्य सुरक्षामा सफलतापूर्वक खाडीबाट बाहिरिएको जानकारी दिएको छ। यस घटनाले तत्कालका लागि आपूर्ति अवरुद्ध हुने त्रासलाई केही हदसम्म कम गरिदिएको छ।

मंगलबार जुलाईका लागि ब्रेन्ट आयल फ्युचर्स ६८ सेन्ट अर्थात् ०.६ प्रतिशतले घटेर प्रति ब्यारेल ११३.७६ डलरमा झरेको छ। त्यस्तै अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लूटीआई) क्रुड १.५९ डलर अर्थात् १.५ प्रतिशतले घटेर १०४.८३ डलरमा कारोबार भएको छ।

केसीएम ट्रेडका मुख्य बजार विश्लेषक टिम वाटेररका अनुसार सैन्य सुरक्षामा जहाज बाहिरिनुले सबैभन्दा खराब अवस्थाको डरलाई केही कम गरेको छ, तर यो पूर्ण रूपमा जलमार्ग खुल्नु भने होइन।

तनाव अझै पूर्ण रूपमा मत्थर भने भइसकेको छैन। अमेरिकी कदमको प्रतिकार गर्न इरानले सोमबार खाडी क्षेत्रमा विभिन्न आक्रमणहरू गरेको थियो। होर्मुज जलमार्गमा नियन्त्रणका लागि दुई देशबिच संघर्ष जारी छ, जहाँबाट विश्वको कुल मागको करिब २० प्रतिशत तेल र ग्यास आपूर्ति हुने गर्दछ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि युद्ध सुरु गरेपछि तेहरानले यो महत्त्वपूर्ण मार्ग बन्द गरिदिएको थियो। पछिल्लो चार हप्तामा युद्धविरामको घोषणा भए पनि ट्रम्प प्रशासनले नौसेना प्रयोग गरेर जहाजहरू मुक्त गराउन खोज्नुलाई युद्धको ठूलो विस्तारका रूपमा हेरिएको छ।

तेल आपूर्तिको यो अवरोधका कारण विश्वभर ऊर्जा संकट गहिरिँदै गएको छ। सेभरनका अध्यक्ष एवं सीईओ माइक विर्थले होर्मुज बन्द हुनुका कारण विश्वभर भौतिक रूपमै तेलको अभाव देखिन थाल्ने चेतावनी दिएका छन्।

गोल्डम्यान साक्सले सोमबार एक प्रतिवेदन सार्वजनिक गर्दै विश्वव्यापी तेल भण्डारण आठ वर्षयताकै न्यून स्तरमा पुग्न लागेको र यसको व्यवस्थापन चिन्ताको विषय बनेको बताएको छ। बजार विश्लेषक टोनी स्यामोरका अनुसार व्यापारिक भण्डार, रणनीतिक मौज्दात र तैरिरहेका जहाजमा रहेका कच्चा तेलको मात्रा द्रुत गतिमा घटिरहेकाले भविष्यमा तेलको मूल्य फेरि बढ्न सक्ने दबाब कायमै छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖